काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले पुँजीबजारलाई प्रभावित पार्ने नीतिगत व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघले पुँजीबजार निरन्तर घट्दै गएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारसँग उक्त माग राखेको हो।
पुँजीबजारको पछिल्लो अवस्थाले आम लगानीकर्तालाई सशंकित बनाएको महासंघको भनाइ छ। 'पुँजीबजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ,' महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ, 'पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनीबारेको वित्तीयलगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गर्दछ।'
संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको महासंघले जनाएको छ। 'बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ,' महासंघले भनेको छ।
अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रस्टता आवश्यक रहने महासंघको भनाइ छ। केही समययताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतारचढाव आएको महसुस गरिएको बताइएको छ।
'मूल्यजस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बिमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर परेको देखिन्छ। सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो सातायता समग्रमा पुँजीबजार ओरालो लागेको देखिन्छ। यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ। उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ,' महासंघले भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।