काठमाडौं- विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले औद्योगिक विकास प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
निजी क्षेत्रको सहभागिता वा सार्वजनिक-निजी साझेदारीमार्फत् औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।
उद्योगसचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्।
यो समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।