काठमाडौं- सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ। शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो।
कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको छ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।
लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।
उक्त भवन हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोभिड-१९ को संक्रमणकालीन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रूत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे। उनले नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राखे।
भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालीन अवस्थामा पनि सरकारीस्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।