काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)ले बिमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ।
ईपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीवन बिमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत रहेको बताए। गत असार १ गते गण्डकी र बागमती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको ईपानको भनाइ छ।
बिमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल गर्नुपर्नेमा उल्टै बिमा रकममा गरिएको वृद्धि आफूहरुलाई मान्य नभएको ईपानको भनाइ छ। गत असार पहिलो साताको बाढीका कारण क्षति पुगेका आयोजनालाई बढी क्षतिपूर्ति दिनुपर्यो भन्ने मान्यता राखेर जलविद्युत् आयोजनाप्रति गरिएको व्यवहार आफैंमा मिल्दो नभएको अध्यक्ष आचार्यको भनाइ छ।
ईपानले गलत उद्देश्य राखेर दिइएको निर्देशन तत्काल खारेज गरी दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालय र अर्थमन्त्रीसँग माग गरेको छ। सरकारले ११४ वर्षमा गर्न नसकेको काम निजी क्षेत्रले विगत २७ वर्षमा गरेको भन्दै ईपानले बिमा दाबी गर्दा क्षतिको तुलनामा असाध्यै कममात्रै क्षतिपूर्ति पाएको अवस्थामा बिमाङ्क बढी तिर्नुपर्ने उद्देश्य राखी गरिएको निर्णय आफूहरुलाई मान्य नभएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।