नार गाउँबाट रत्नचुली हर्दै लेखक। आतिथ्य काङ लाको, अतिथि हामी।
बेलैमा पुग्नु थियो, निम्तो मान्न। मनभरि थियो खुसी र कुतूहल। सरासर काङ लाको आँगन पुगेर अन्तिम पटक हेर्नु थियो, धीत मर्ने गरी नार–फुको सेरोफेरो। ग्रहण गर्नु थियो, काङ लाको न्यानो आतिथ्य। पेटभरि पिउनु थियो, हिमाली सिरेटो।
घामको किरणले कङ्गारु हिमालको शिर नचुम्दै छोड्न लागेका थियौँ नारगाउँ।
राजेन्द्रमान डङ्गोल‘अब कहिले आउनुहुन्छ त?’ नीमा घलेको प्रश्न मलाई।
‘नमरी बाँचे, कालले साँचे अर्को वर्ष दाइ। तपाईंहरूको घोडेजात्रा हेर्न मन छ मलाई,’ मेरो जवाफ।
‘नार–फुमा बस्ने हामी नयाँ वर्षको स्वागतमा ल्होसार मनाउछौँ। आपसमा शुभकामना साटासाट गर्छौँ। दर्जी (तिर हान्ने पर्व) पनि हुन्छ। फल्याकमा राक्षसको चित्र राखिएको हुन्छ। हामी त्यसैलाई ताकेर वाण हान्छौँ। सहभागीबीचमा कडा प्रतिस्पर्धा हुन्छ। ठिक ठाउँमा निशाना लगाउन सक्नेले पुरस्कार पाउँछ। नार र फुमा अन्नबाली लगाइसकेपछि ‘छे कोरो पर्व’ मनाइन्छ। यो वेला धार्मिक ग्रन्थ बोकेर खेतबारी र गाउँ घरमा परिक्रमा गरिन्छ। यसो गर्दा गाउँलेलाई शुभ हुने, बालीमा किरा नलाग्ने र उत्पादन राम्रो हुने विश्वास गरिन्छ। वर्षा लाग्नुअघि घोडेजात्रा पनि हुन्छ। हामी एकै ठाउँमा भेला भएर घोडा दौडाउछौँ।’ धर्मशाला छाड्नुअघि फुन्चोक ठिन्लेले हिजै भनेका थिए।
उनले त भनेका थिए– ‘ह्युम पूजा र माने(स्याप)नाच, पनि हुन्छ। प्रत्येक वर्ष हिउँ पर्नुअघि गाउँ छोड्दा विधिवत् पूजा हुन्छ।’
‘समृद्ध छौँ हामी संस्कृतिमा। फुमा मनाइने तार्क्ये पर्व, नारको छे कोरो र घोडेजात्रालाई पर्यटनसित जोड्न सके राम्रो हुन्छ। छे कोरो पर्वलाई निरन्तरता दिने कोसिस गर्नु होला।’ मेरो सुझाव। यसमा स्वीकारोक्ति थियो, नीमा दाजुको।
‘ल राम्ररी जानुस् है! केही समस्या परे फोन गर्नुहोला!’ बिदाइ गर्दै भने उनले।
‘काठमाडौँ आउँदा भेट्नुपर्छ नि!’ बिदा माग्दै भनेथेँ मैले।
मनमा लागिरहेको थियो– औपचारिकतामात्र नभएर उनीहरूलाई कुनै दिन अतिथिकै रूपमा स्वागत गर्न पाए हुन्थ्यो।
०००
एकाबिहानै के रुच्नु! बानी भए पो! जबरजस्ती एक कचौरा पोरिज र एक कप चियाको नास्ता गरेँ। बाटोमा भोक लाग्ला भनेर शान्ति दिदी र निमा दाइले उसिनेको अण्डा र रोटीको पोको हातहातमा थमाए हामीलाई। पाहुना खुसी पार्ने सुन्दर तरिका। दिएर र खाएर त कहिले कसलाई पो पुग्छ र! सबैभन्दा ठुलो कुरा त बोलीवचन नै रहेछ। बोलीमा मिठास भए मात्र पनि लाख हुँदोरहेछ। सबै ठाउँका होटलवाला यस्तै भइदिए पो! मेरो एकालाप।
नजरबाट छेलिए पनि नारगाउँको माया मनबाट छेलिएन, जसरी छेलिएन कङ्गारु हिमाल र पिसाङचुलीको। हिमालमै सल्बलाइरहेझैँ लाग्थ्योे शान्ति दिदी र नीमा दाइकोे प्रतिबिम्ब।
४,११० बाट पुग्नु छ ५,३२० मिटरको उचाइ। झर्नु छ, ङवाल ३,५०० मा । लामै छ, आजको यात्रा। हामी पाँच नबज्दै निस्किसक्नुपर्थ्यो। ढिला त भएकै हो। अझ हिजो काङ ला फेदीमै बास बसेको भए निकै नै छोटिन्थ्यो बाटो। नार आइपुग्ने वेलामा एक जना स्थानीयले सल्लाह नदिएको त होइन तर त्यति सुन्दर नारगाउँ छाड्न मनले नमानेपछि के गर्नु!
नारगाउँ।हाम्रो यात्राको दोस्रो गन्तव्य थियो– नारगाउँ। नारफेदीमा बसेको साँझ सादेगुम्बाका लामाले भनेका थिए– ‘तिब्बतबाट आएका नार वंशावलीका तीन भाइ त्यहाँ आएर बसेपछि गाउँको नाम नार हुन गयो। उनीहरूको धर्म नारफोबे भएकोले गुम्बाको नाम पनि नारेकाकी छोलिङ गुम्बा भनेर राखियो।’
नार आइपुग्नेबित्तिकै नीमा घलेसँग नारको अर्थ सोधेको थिएँ।
‘काङ लातिरबाट आएका सिकारीले नाउरको सिकार गरेछन्। वाणले घाइते नाउर छटपटाउँदै यहाँ आइपुगेपछि मरेछ। नाउर मरेको ठाउँ भएकोले यो ठाउँलाई नाउर भनिन थाल्यो। नाउर भन्दाभन्दै नार भएको रे।’ भिन्न थियो उनको कथन।
दुवै मिथक सहीझैँ लाग्ने। जेजे भएपनि यो ठाउँको नाम नार नै हो। फेरि अपभ्रंश भएर अर्कै नाम त नरहला कि! मेरो मनको कुरा।
फिलिपलाई सम्झँदा केही हराएजस्तै उराठिलो अनुभूति हुन्थ्यो। बिचरा फिलिप! मेरो ‘ड्रिम डेस्टिनेसन’ भन्थे। यात्रा पूरा नगरीकनै फर्कनुपर्यो। निर्दयी कालले पनि असमयमै लगिदिन्छन् मान्छेलाई। जीवनमा यदाकदा बज्रपात सहनुपर्छ। उन्नाईस वर्षदेखि थाती रहेको उनको स्वप्न गन्तव्यमा पाइला टैक्दै थिए उनी। कस्तो दुर्भाग्य! फेरि थाती रहन गयो उनको सपना। थाहा छैन– उनका लागि यो दिन फेरि आउने हो कि होइन। उनका स्नेही यादहरू मानसपटलमा सँगालिरहेछु।
०००
हिजो आराम गरेकोले ज्यान हल्का भएको छ। अझ रातमा राम्ररी निदाउन सकेको भए त झन् कस्तो हुन्थ्यो होला ! नारफेदीमा ओढ्ने गतिलो नभएर निदाउन सकिएन। नारमा उचाइको कारणले निदाउन सकिएन। उचाइमा आएर मज्जाले निदाउछु भन्नु चाहिँ ‘मनको लड्डु घ्यूसित खानु’जस्तै रहेछ।
दिनभरि पग्लने, रातभरि जम्ने। सिसाजस्तै भएर जमेका थिए, पानीका खोल्सीहरू। चट्टानजस्तै कडा भएको छ माटो ‘नि। हिँड्दा ‘चर्यापचर्याप’ आवाज आउँछ। बाटैभरि पातलो हिउँ छरिएको छ। घामको किरण नपरेकोेले हिँड्न सजिलो छ।
शान्ति दिदीले भनेकी थिइन्– ‘यसपालि हिउँ पर्न ढिलो भयो। अस्ति भर्खरमात्र पहिलो पटक परेको हो। हिउँ बाक्लो नभएकोले हिँड्न सजिलै हुन्छ। चिन्ता नगर्नुस्।’
नारबाट काङ ला पुगेर फेरि नार फर्केका दुई स्लोभेनियाली पदयात्रीलाई अघिल्लो साँझ डाइनिङ हलमा भेटेका थियौँ। बिहान छ बजे निस्केर काङ ला पुगीकन चार बजे नै नार फर्किसकेका थिए। उनीहरू उनै स्लोभेनियालीहरू थिए जसलाई दुई दिन अघि फुबाट आउँदा च्याखुको लन्चमा भेटेका थियौँ।
उनीहरूले भनेका थिए– ‘पाँचहजार मिटरभन्दा माथि बाक्लो हिउँ छ।’
युवावयदेखि नेपालमा पदयात्रा गर्न सुरु गरेका यी दुईले सत्तरी शिशिर पार गर्दा पनि यात्रा गर्न छाडेका रहेनछन्। मान्नैपर्छ उनीहरूको विशेषता, यात्राको नैरन्तर्य र नेपालप्रतिको मोह।
मैले सोधनी गरेको थिएँ– ‘यो उमेरमा पनि पदयात्रा गर्ने यत्रो जाँगर?’
‘हामी हरेक दिन चालीस किलोमिटर हिँड्छौँ।’ उनीहरूको जवाफ।
यात्रालाई उमेरले कहाँ छेक्दोरहेछ र! उनीहरूको आत्मविश्वासले काम गरेको छ, हामीलाई।
हामी राजमार्गजस्तै फराकिलो पदमार्गमा हिँडिरहेका छौँ। जतिजति माथि गयो उतिउति हिउँको सघनता पनि बढ्दै छ। हिम उद्यानभित्र पसेजस्तै महसुस भइरहेछ। पाइलाभरि हिउँ, आँखाभरि हिमाल। जतिजति घामको किरण फिँजियो त्यति नै उजेलिँदै छ, परिवेश। र, घामले फर्काउँदै छ प्रकाश हामीतिरै। ‘मोइस्चराइजर’ लिपेको छु अनुहारभरि, गालाको छाला जोगाउन।

हिउँलाई टाढाबाट हेर्नु, सुम्सुम्याउनु, खेल्नु र महसुस गर्नु एउटा कुरा। हिउँसँग सङ्गत गर्नु नितान्त अर्कै कुरा। हो, हिउँ भोग्न हिउँसित सङ्गत गर्नैपर्छ। अझ हिमालमै बस्नुपर्छ। अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता। आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले। जोगिन सक्नुपर्छ हिउँसित, नत्र खाइदिन्छ हात, खुट्टा र बनाइदिन्छ अन्धो।
दायाँतर्फ चट्टानी पहरा पसारिएका, बायाँपट्टि जोङ रिदेखि काङ लासम्मका चुचुरा लहरै उभिएका। बिहानको भन्दा भिन्दै रूप धारण गरिसकेका छन् हिमालले। ती सुन्दर दृश्यको तस्बिर लिन मन लाग्छ, तर बाक्लो पन्जाभित्र लुकेका मेरा हात बाहिर निस्कन मान्दैनन्।
नौ बज्दा काङ ला फेदी (४,५३० मिटर) पुगियो। फेदी भन्नेबित्तिकै साँघुरो ठाउँ पो होला कि भन्ठानेको थिएँ। तर फराकिलो रहेछ। एउटै मात्र चिया घर थियो यति चाक्लोे ठाउँमा। त्यो पनि रित्तै। हिजैमात्र यसका सञ्चालक नार झरेका थिए। अब चार महिनाको लागि रित्तै रहन्छ यो घर। हिजो यतै बस्न पाएको भए आज आधाबाटो काटिसकिने रहेछ भन्ने भान भइरहेछ। मनमा पनि के के तरङ्ग उठ्छ के के!
उचाइ अनुकूलनको लागि उत्तम ठाउँ हो, काङ ला फेदी। नारको विकल्पको आश्रय पनि। नारमा जत्तिकै होटलहरू हुनुपर्ने हो यहाँ तर छैनन्। अन्नपूर्णा चक्रिय मार्गमा जस्तै पर्यटकको प्रवाह हुने भए त थोरङ फेदीमा जस्तै लगानी गर्थे होलान् व्यवसायीहरूले।
सुनेको थिएँ– हिउँचितुवाको बस्ती पनि हो यो क्षेत्र। दर्शन त कहाँ पायौँ र हिउँ चितुवाको!
एकजोडी नाउर भने बुर्कुसी मार्दै बाटो छेक्न आइपुगे। मेताबाट क्याङ जाँदा त थुप्रै जोडी भेटिएका थिए। सोचेँ– नाउरजोडीको सट्टा हिउँचितुवा यसरी सामुन्ने आइदिएको भए के हालत हुन्थ्यो होला हाम्रो !
‘हिउँचितुवाको संसारमा नाउरहरू पनि!’ अचम्मित हुँदै बोलेँ म।
‘नाउरहरू भएरै त हिउँचितुवा भएको होला नि!’ जयको प्रतिक्रिया।
हुन पनि हो। नाउर नहुँदो हो त हिउँचितुवाको जीवनचक्र कसरी चल्नु ! हिउँचितुवाको जीवनका लागि आफ्नो जीवन समर्पण गर्नुपर्छ बिचरा नाउरहरूले। प्रकृतिको नियाँ!
निकै बेर मुखामुख गर्यौँ हामीले नाउर जोडीसँग। लजाएजस्तै लाग्थे ती। तिनलाई देख्दा केही कुरा भन्न खोजेजस्तै प्रतीत हुन्थ्यो। सायद आजको मौसम राम्रो रहने सन्देश पो दिँदै थिए कि!
जता हेर्यो ढुङ्गैढुङ्गा छन्, त्यसमाथि पनि हिउँ परेको। खै, के खान्छन् कुन्नि! हेर्दा त दशैँका लागि पालेको खसीझैँ खिरिला देखिन्छन्। उचाइमा बस्ने जात हो यो। हिउँ नपर्दा के के नपुगेजस्तो लाग्दो हो यिनलाई!
आँखाको भाषा बुझ्न खोज्दाखेज्दै नाउर जोडी लाग्यो आफ्नो बाटो। हामी पनि लाग्यौँ आफ्नै बाटो।
फलामे पुल तरेपछि काङ ला पहाडको स्पर्श गर्यो पैतालाले। अब भन्ज्याङसम्मकै बाटो उकालो र ठाडै उकालो। पदयात्राको सबैभन्दा कठिन खण्डको चरमविन्दु पनि।
चट्टानी पहाड र श्वेत हिमशैलको नाङ्गो संसारमा आइपुगेका छौँ हामी। बतासले बतासकै छिनोमा बतासको घन ठोकेर पहाडका चट्टानलाई चोइट्याइदिएको छ। र, बाटैभरि ढुङ्गैढुङ्गा वमन गरेका छन् पहाडहरूले। हिँडिरहेका छौँ ढुङ्गेनी मार्ग। तरिरहेका छौँ ढुङ्गाकै नदी। खिइँदाखिइँदै कुनै दिन पहाड नै सकिने त हुने होइन? पहाडप्रतिको प्रेम छचल्किरहेछ मभित्र।
काङ ला पास पुग्नुअघि।काठमाडौँमा भए निकै काम आउँथे ती ढुङ्गाको। घरहरू बन्थे/बनाउँथे। सडकका खाल्डाखुल्डीहरू पुरिन्थे। नदीका बालुवामा जस्तै कतिको साम्राज्य चल्थ्यो होला ढुङ्गामा? साम्राज्य त चल्ने नै भयो नि! नेताहरू माफियाजस्ता र माफियाहरू नेताजस्ता भएपछि! छचल्किरहे मनभित्रका उत्ताल छालहरू।
यार्सागुम्बा टिप्ने वेलामा कसै न कसैको साम्राज्य त यहाँ पनि नचल्ने कहाँ हो र! वर्षको एकचोटि डाँडापाखा ढपक्क ढाकिन्छ मान्छेहरूले। पहाडको रौनक बढ्छ केही दिन। अनि किरा बेचेरै करोडपति हुन्छन् मुठ्ठीभर मान्छेहरू। यार्सागुम्बा उम्रने डाँडाकाँडा मुठीमा पारेका छन् विचौलियाले।
०००
ट्रेकिङ सिजनको अन्त्य भइसकेकोले विदेशी पदयात्रीहरूको आवतजावत थिएन। हिमानीमार्गमा हिजो स्लोभेनियालीले कोरिदिएको पदचिह्न पछ्याइरहेथ्यौँ हामीले। शून्यतामा आफैँलाई पाएको महसुस हुन्छ। आनन्द पनि अति नै। अलकापुरी त होइन! भन्ने भान हुन्छ।
तृणरहित पहाडहरूका खैरा, निला र काला रङ। घामले चम्किएका हिमालका सेता रङ। गर्वानुभूति भइरहेछ यतिखेर, प्रकृतिको रङमा लुटपुटिएर हिमालको भव्यता चियाउँदा। आफूसँगै ल्याउन मन लाग्छ प्रकृतिको त्यो सौन्दर्य। लाग्छ– आफूसित समय भइदिए, बन्दोबस्तीका सामानहरू भइदिए, पेन्टिङ कला र साथमा सामग्रीहरू भइदिए त क्यामरामा तस्बिर कैद गर्नुभन्दा आरामले कागजमा उतार्थेँ ती तमाम दृश्यहरू।
आयो पदयात्राको ठाडो रेखा। एउटै गतिमा बढ्दै छ, मुटुको धड्कन र निश्वास। खुट्टाको गति घटेर नौ महिने बालकजस्तै भएको छु। त्यही वेला कटक्कै काट्यो मेरो पेट। अघिल्लो दिन लन्च र डिनरले पेटको थैलो भर्दा खुर्सानीको अचार पनि जाकेको थिएँ। आफ्नो पर्यो स्वादे जिब्रो। पिरो नखाए भातै नरुच्ने। खाए बाटोमा यसरी सताउने। साला गाइड जिन्दगी ! पैट्याइदिएँ मैले पेटको भकारी। लौजा त...।
मभन्दा पछि हिँडिरहेका जयले उछिनिसकेछन् मलाई। लामखुट्टे म्याक्सिम त उपल्लो थलीमा पुगिसकेका थिए।
प्रत्येक पन्ध्रपन्ध्र पाइलामा पन्ध्र सेकेन्ड विराम गर्दै उकालो तुर्न खोज्दै छु म। एकएक घुट्को गर्दै बोत्तलको पानीले घाँटी भिजाउँदै पनि छु। मितव्ययिता त अपनाउनै पर्यो! बोत्तल रित्तिहाले हिउँ चाट्नुको विकल्प छैन फेरि।
अनौठो अनुभूति भइरहेछ, पहाडको उचाइ जित्दा। पहाडमात्र होइन, कतिपय हिमाल पनि मभन्दा पुड्का देखिन्छन् यति वेला त। यस्तो लाग्छ– काङ लातर्फ उकालिँदै गर्दा म अग्लिँदै छु र हिमालहरू होचिँदै छन्। म हिमाल चढिरहेछु र हिमालहरू बेसी झरिरहेछन्। फुरुङ्ग हुन्छ मन। आज धेरै माथि छु जस्तो लाग्छ, आकाशभन्दा पनि माथि। भारतीय गायिका कविता कृष्णमूर्तिले गाएको गीत गुन्गुनाउन थाल्छु म–
‘आज मे उपर, आसमान निचे
आज मे आगे, जमाना हे पिछे
टेल मि ओ खुदा, अब मे क्या करूँ
चलूँ सिधी कि उल्टी चलूँ......’
०००
भन्छन्– ‘थाके विश्राम गर्नू, तर कहिल्यै नरोकिनू।’ उकालोको यात्रा निरन्तर थियो। भलै मेरो चाहिँ कछुवा गतिमा परिणत भएको छ। उचाइमा थोरङ लाभन्दा सय मिटर कम छ, काङ ला। तर उकालोको कोण थोरङ लाको भन्दा बढी र बाटो पनि साँघुरो। केही गरी चिप्लिहाले शरीर काङ ला फेदी नपुग्दै प्राणपखेरु चाहिँ सीधै माथि पुगिसक्ने। लाग्छ– ‘एडभेन्चर ट्रिप’ हो, यत्तिको ‘थ्रिलिङ’ त हुनै पर्यो नि !
घोडा लिएर ओर्लंदै गरेका एक युवक भेटिए बाटोमा। ‘आइस क्लाइम्बिङ ग्रुप’को लागि व्यवस्थापन गर्न आएका रहेछन्।
‘अब एकै छिन हो भन्ज्याङ पुग्न,’ सान्त्वनास्वरूप उनले मलाई भने। सायद उसलाई टिठ लाग्यो होला मेरो थकित अनुहार देखेर।
गोरेटोमा लेसिएको थियो पग्लँदो हिउँ। सबैले टेकिसकेको हिउँमा टेक्दै थिएँ म। जुत्तामा लगाउनुपर्ने ‘क्य्राम्पोन’ र ‘रुकस्याक’ भित्रै छ। उँभो जानुभन्दा पाइला उँधोतिरै सर्थ्यो घरीघरी। अलिकति सहारा दिएको छ लट्ठीले। यस्तै हुन्छ, पछिपछि हिँड्नेको हविगत। एक्लै हाँस्न विवश थिएँ म!
पेटको भकारी रित्तिएपछि सम्झेँ, उही नीमा दाइ र शान्ति दिदीलाई। बिहान नीमा दाइले त भनेका थिए– ‘पोरिज थपेर खानू।’ आफूलाई रुचि भएन त के गर्नु! उनले दिएको अण्डा र रोटी त साथमा छ। एक्लै के खानु!
अलिमाथि पुगेपछि आयो थली। थलीको कुनामा जमेको छ काङ ला हिमताल। यसलाई ‘घाङ्ले छो’ पनि भनिन्छ।
‘असारमा मेला लाग्छ। पूजापाठ हुन्छ। मीत लाउनेहरू यहाँ आउने गर्छन् त्यो दिन,’ अघिल्लो दिन नार गुुलुङको धर्मशालाका चिया पसले पुञ्चोक ठिन्लेले भनेका थिए।
ताल तालजस्तो थिएन; सिसाजस्तै थियो। नजमेको भए त ढुङ्गा फ्याँकेर तरङ्ग निकालिदिन्थेँ र एक क्षण मन बहलाउथेँ। हिमताल हुनुको विवशतालाई बुझ्छु म।
त्यहाँबाट देखियो काङ ला भन्ज्याङमा बताससँगै बयेंली खेलिरहेका ध्वजाहरू। तन्कँदै थिए लुङ्दर मेरो थकित देहलाई समाउन। काङ लाको छेउछाउमा पुगिसकेका थिए म्याक्सिम र जय। हावाको झोक्काले मेरो ओठको ‘लिप बाम’लाई पनि छेडिसकेको थियो। पटपटी फुटेको ओठमा जिब्रो दल्दै थिएँ म।
उचाइ र थकाइले मेरो बोल्ती बन्द भइसकेको थियो। फेरि बोल्नु पनि कोसित ! सहयात्रीहरू त भन्ज्याङ पुगिसके।
तातेताते गर्दै पुगेँ म पनि।

बोर्डमा लेखिएको छ– काङ ला पास (५,३२० मिटर)। ढुङ्गामा कोरिएको छ बुद्धको आकृति। मनको खादा चढाएँ मैले काङ लालाई। टुसुक्क बसेँ म केही बेर काङ लाको काखमा। यतिखेर हामीले बादल तोडेका थियौँ। आकाश जितेका थियौँ। काङ ला टेकेको अर्थमा हामीले खुसी बाँड्यौँ। आपसमा अङ्कमाल गर्यौँ र चिच्यायौँ। काङ लालाई अँगालो हाल्यौँ। नाङ्गो पहरासँगै टाँसिएर विभिन्न पोजमा तस्बिर लियौँ र काङ लाले पस्केको चिसो सिरेटोको मेजमानी गर्यौँ।
काङ ला हिमाल(५,३९९मि.)को नाकको डाँडी नै हो– काङ ला भन्ज्याङ। नार र ङवालको जीवनलाई जोडेको छ यसले। यस्ता कैयौँ जीवनलाई जोडेका छन् भन्ज्याङहरूले। म सोच्छु– मान्छेको मन र जीवनलाई जोड्न त यस्ता सुन्दर भन्ज्याङ नै चाहिँदोरहेछ।
आरोहणमा हल्का कठिनाइ हुनु त सामान्य कुरा हो। फेरि उचाइ चुम्दाको आनन्द बेग्लै। पुनर्ताजगी भएर मन हाँसिहाल्ने। अन्नपूर्ण–२, गङ्गापूर्ण, अन्नपूर्ण–४ र तिलिचो पिकले आफ्नो दिशा परिवर्तन गरेर हेरिरहेको थियो काङ ला पासको हाम्रो आगमन। यति नजिकबाट कहिल्यै देखेको थिइनँ मैले ती चुलीलाई एकै पटक एउटै भूःविन्दुबाट। एकै फड्कोमा तिनलाई भेट्न सकिन्छ भनेझैँ लाग्ने। हिमाल पनि थरीथरी आकृतिका! कोही स्तूपाका शिखरजस्ता। कोही मन्दिरका गजुरजस्ता। कोही सेता दरबारजस्ता। फेरि यस्तैयस्तै आकृतिका अर्कोतिर अग्लिएर उभिएका छन्– हिमलुङ, सारिबुङ, कङ्गारु पिसाङ र अनेक बेनामे चुचुराहरू। उठेको त्यो भूगोलबाट देख्दै थिएँ म हिमालैहिमालको हिमाल। अझै पनि जारी छ– करोडौँ वर्ष अघि भारतीय प्लेट र युरेसियन प्लेटको टक्करबाट सुरु भएको हिमाल अग्लिने क्रम ।
सम्झेँ– ‘एउटा ठुलोे पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन्।’ नेल्सन मण्डेलाको कथन। काङ लासम्म पुग्दा धेरै पहाडहरू चढिसकेको थिएँ। चढ्नकै निम्ति त अझै अनगिन्ती पहाडहरू छन् यहाँ। नेपालमा भएभरका चुचुरामा पाइला टेक्ने पहिलो व्यक्ति भएर गिनिज बुकमा नाम लेखाउन पाए.... ! स्वैर कल्पना मेरो।
‘काङ ला पास’ लेखिएका फलामे पाटी र मान्छेले नै थमाइदिएको लुङ्दर च्यापेर साँघुरो गरी बसेको छ काङ ला भन्ज्याङ। प्रकृतिले हिउँको गजुर हालेको छ। हिउँकै खादा ओढाइदिएको छ काङ लालाई। विशाल चट्टानी भित्तामा टाउको थामेर हिउँकै सिरक ओढी बस्छ काङ ला। समयक्रमले फेरि नङ्ग्याइदिन्छ काङ लालाई। दुःखका पलहरूमा आफनै पैताला भिज्ने गरी गहबाट काङ ला हिमतालमा अश्रुधारा चुहाएर त्यही आँसुको ऐनामा आफ्नो प्रतिविम्ब सँगाल्छ काङ लाले। काङ ला हिमालको लाचार छायाँ हुनुको नियति भोगिरहेछ काङ ला भन्ज्याङले।
मैले गर्नुसम्म अनुभूति गरिसकेको थिएँ। हिउँफूल बनेर टाकुराभरि छरिएझैँ। नार र फुखोला भई बगेझैँ। घामको रक्तिम किरण बनेर चट्टानी पहाडका छातीछातीमा लेपिएझैँ। स्नो फिन्ज र ग्रान्डाला बनेर कावा खाएझैँ। कुहिरोको भुल्का बनेर खुला आकाशमार्गमा घुमेझैँ। चुलुको झरना भएर पहाडबाट फाल हालेझैँ। र, यस्तैयस्तै अरु धेरै कल्पना गरेथेँ यात्राभरि। खुसीको सीमा थिएन, प्रकृतिको लयमा डुब्दा।
हेर्दाहेर्दै हामीलाई कति छिटो घामले पनि उछिनिसकेछ। अझै बाँकी थियो– अठार सय मिटरको अवरोह। काङ ला भन्ज्याङबाट भिरालो हिमोढ हुँदै ङवाल खुरमुरिने क्रममा मैले एक्लै गुन्गुनाएथेँ–
टेकेँ उमङ्गका पाइला
मेरो स्वप्न गन्तव्यमा
सजाउँदै इन्दे्रणी सपना
मनको भूगोल भरिभरि।
उराल्दैै नार–फुले बिछ्याएको हिउँफूल
लिएर आँखाभरि बस्तीबस्तीका सौन्दर्य
उक्लेँ म काङ ला भन्ज्याङ।
सम्झन्छु म झल्झली
त्यो दिन फु जाँदा
फुखोलाको सङ्गीतमा बैँस कोरल्दै गरेका
तितुहरूको जोडीले जिस्क्याएको
र, थुमहरूबाट लुसुक्क ओर्लिएर
नाउरहरू बाटो छेक्न आएको।
याद आउँछ
नार पुग्नेबित्तिकै
मेरो अङ्गप्रत्यङ्ग निथ्रुक्क भिज्ने गरी
उत्ताउलो घामले पछाडिबाट
कामुक घडा घ्वाप्लाक्कै घोप्टयाएको
र, लगतै आफ्नो अँगालोमा
बेसरम बतासले झ्याप्पै अँगालो हालेको
अनि मेरो आस्थाको गोधूलि पर्खिरहेको वेला
नढल्दै झम्के साँझ
जोङ रि पारिबाट
तन्नेरी जूनले कुत्कुत्याउन आएको।
हठात् मुटुको ढुकढुकी बढ्दा
नाक, मुख र गला टपक्कै सुक्दा
तिमीसँगको बिछोडले पलपल तड्पिँदा
र, खेपिरहँदा पदयात्राको बोझिलो भारी
सकिनँ मैले बयेंली खेल्न वेगिँदो बताससित
यत्रतत्र झुन्डिएका लुङ्दरले जस्तै।
बरु नापिरहेँ नारपाभूमि
थकित पयर घिसारेरै।
-प्रकाशोन्मुख नियात्रा संग्रह ‘पैतालामा हिउँ आँखामा हिमाल’बाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।