काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष पनि दसैंका लागि च्यांग्र्रा विक्री वितरण नगर्ने भएको छ। यस पटक च्यांग्राको उपलब्धता कम भएको तथा महँगो भएकाले कम्पनीले च्यांग्र्रा खरिद बिक्रीको कार्यक्रम स्थगित गरेको बताएको छ।
बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले खाद्य कम्पनीले प्रत्येक वर्ष दसैंमा खसीबोका तथा च्यांग्र्रा बिक्री वितरण गर्दै आएको बताउँदै कम्पनीका सूचना अधिकारी शर्मिला सुुवेदीले गत वर्षजस्तो यो वर्ष पनि खसीबोका मात्रै बिक्री गर्ने तयारी गरिएको बताइन्। एक हजार च्यांग्र्रा ल्याउने निर्णयअनुसार तयारी गरिएको तर कोरोना संक्रमणका कारण यस वर्ष तिब्बतबाट च्यांग्र्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याउन नसकिएको उनले बताइन्।
कम्पनीले गत वर्षको दसैंमा पनि कोरोनाका कारण च्यांग्र्रा बिक्री गरेको थिएन। यस पटक खाद्यले मकवानपुरको हेटौंडाबाट १२ सय र दाङको तुलसीपुरबाट ८ सय वटा गरी दुुई हजार खसीबोका ल्याउने तयारी गरेको छ।
दुई जिल्लाबाट ल्याइएको खसीबोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट घटस्थापनाको भोलिपल्टबाट बिक्री सुरु गर्ने जनाएको छ। कम्पनीले दसैंका लागि ल्याइएका खसीबोका जिउँदो मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिने यसअघि नै घोषणा गरेको छ।
कम्पनीले उपत्यकाका चार स्थानसहित ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा प्रतिकेजी पाँच रुपैयाँ र भटमासको तेल र कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ छुट दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।