काठमाडौं– केबल टेलिभिजन व्यवसायीहरूले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। सरकारको नीतिका कारण व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केबल टेलिभिजन व्यवसायीहरूको बुधबार राष्ट्रिय भेलामा व्यवसायीहरूले सरकारले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।
व्यवसायीहरूले व्यवसायीमैत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरूसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको बताए। उनीहरूले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए। राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरूलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको औंयाएका छन्।
विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए। कार्यक्रममा अन्य व्यवसायीहरूले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भएपनि उनमा दम्भ बढेको टिप्पणी गरे।
व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केबल व्यवसायीहरूलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए। सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन्।
विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केबल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन्।
केबल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन्। उनीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरू बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।