काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन्।
बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन्। उनले सरकारले सञ्चारलाई गाउँ-गाउँमा पुर्याउनुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन्।
मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन्। निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेसागत जीवनमा परेका समस्या र चुनौतीहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताइन्।
मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन्। उनले आजको विद्युत् प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।