काठमाडौं- नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले नेपालमा उत्पादन भएका अर्ग्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि 'दसैं-तिहार व्यापार मेला-२०२१' को आयोजना गर्ने भएको छ।
असोज १३ गते (बुधबार) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना हुने चेम्बरले जानकारी दिएको छ। उक्त मेलाको उद्घाटन चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन्।
नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गर्ने उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
१५ दिनसम्म चल्ने उक्त मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।