काठमाडौं– २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ ले पाएको छ।
त्यसैगरी, पद्मश्री साधना सम्मान सुगम गीतसंगीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्याएका गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई दिइने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष यी दुई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।
लेखकले ‘मोक्षभूमि’ उपन्यासमा आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु. तीन/तीन लाख छ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनयलगायत क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।
यसअघि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने उक्त पुरस्कार तथा सम्मान यो वर्ष विषम परिस्थितिका कारण कुनै अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।