काठमाडौं- कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चूडामणि शर्मा अदालतमा हाजिर भएका छन्। कर फर्स्योट आयोगको पूरक मुद्दामा बयान दिन शर्मा सोमबार बिहानै विशेष अदालतमा उपस्थित भएका हुन्।
अहिले न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भइरहेको छ। बयानपछि थुनछेक बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो।
महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनीहरु अदालतको आदेशबमोजिम जनही ५०/५० लाख रुपैयाँ धरौटी बझाएर आइतबार नै रिहा भएका छन्।
अनुसन्धानका क्रममा आयोगका तत्कालीन अध्यक्ष महत तथा सदस्यद्वय शर्मा र ढकालले नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्स्योट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्रबाहिर गइ बद्नीयतपूर्वक करदाताहरुसँग कर सम्झौता गरी राजस्व छली गरेको देखिएको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्स्योट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिइ कर छुट दिनेगरी सम्झौता गरी मनोमानी किसिमले बद्नीयतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्स्योट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्याइ बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएको अख्तियारको भनाइ छ।
अख्तियारले महत, ढकाल र शर्माबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेअनुसार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो असुलीको मागदाबी गरेको छ। यस्तै, उनीहरुलाई आठदेखि १० वर्षसम्म कैद सजायको मागदाबीसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।