काठमाडौं– नेपाली कांग्रेसले पूर्व निर्धारित कार्यतालिका अनुसार नै हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
कांग्रेस शीर्ष नेता र निर्वाचन समितिका पदाधिकारीबीच भएको छलफलमा उक्त सहमति बनेको हो।
दशैंपछि हिमाली जिल्लामा जाडोका कारण अधिवेशन गर्न समस्या पर्ने भएकाले पूर्व निर्धारित कार्यतालिका कार्यान्वयन गर्ने सहमति भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्य दलले निर्वाचन समितिलाई बाँकी १३ जिल्लाको नामावली असोज ९ गतेसम्म उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज १५ मा एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशनको मिति तोकिएको छ। हिमाली जिल्लाहरूमध्ये धेरैमा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ।
२१ हिमाली जिल्लामध्ये रसुवा र डोल्पामा वडा अधिवेशन पनि हुन सकेको छैन।
बुधबार बसेको शीर्ष तहका नेताको बैठकले गाउँ/ नगर अधिवेशन मात्रै दशैंअघि सक्ने निर्णय गरेको थियो। हिमाली जिल्लाको सन्दर्भमा नयाँ निर्णय लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।