काठमाडौं- बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडमाथि अघि बढाइएको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा उपभोक्ताकर्मीहरुले जोड दिएका छन्।
म्याद गुज्रिएको चियापत्ती डेढ वर्षपछि पुन: प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरेको खुलेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले उक्त कम्पनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। उक्त अनुसन्धानलाई प्रभावकारी बनाइ उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने युनिलिभरलाई कारबाही गर्नुपर्ने उपभोक्ताकर्मीहरुको भनाइ छ।
युनिलिभरले म्याद नाघेको चियापत्ती प्रशोधन गरी ब्रक बण्ड र रेड लेभल ब्राण्डमा प्याकेजिङ गरी महँगो मूल्यमा बजारमा बिक्री गर्दै आएको खुलेको थियो। सन् २०१९ मा उत्पादित चियापत्ती २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नुपर्नेमा युनिलिभरले चियापत्ती म्याद गुज्रिएको डेढ वर्ष भइसकेपछि पुनः प्याकेजिङ गर्दै बजारमा पठाउने तयारी गरेको रहस्य हेटौंडाको कार्यालयमा छापा मारेपछि खुलेको थियो। खान नमिल्ने र सडेको चियापत्ती बिक्री गरेको उपभोक्ता हित संरक्षण मञ्च र सरकारको संयुक्त अनुगमनमा पाइएको मञ्चका अध्यक्ष ज्योती बानियाँले बताए।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले भदौ १५ गते युनिलिभरको हेटौंडा उपमहानगरपालिका-४ स्थित चिया प्रशोधन कक्षमा अनुगमन गर्दा म्याद गुज्रिएको चियापत्ती फेला परेको थियो। चियापत्तीमा म्याद गुज्रेको लेभल र पुन: टाँस्न तयार गरिएको लेभलसमेत फेला परेको थियो।
चिया प्रशोधन कक्षमा म्याद नाघिसकेको (सडेको) अवस्थामा ३५ किलो तौलको ९२० बोरा चियापत्ती फेला परेको थियो। अनुगमन टोलीले तत्कालीन समयमा उक्त उद्योगको प्रशोधन कक्षमा तत्कालै शिलबन्दी गरेको थियो।
अनुमगनमा रहेका एक कर्मचारीका अनुसार भान्सामा लैजानै नमिल्ने यस्तो अखाद्य वस्तु बहुराष्ट्रिय कम्पनीले बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको थियो। भदौ १७ गते उक्त उद्योगमा शिलबन्दी गरेर अनुसन्धान अघि बढाएइको थियो।

मंगलबार खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले उक्त कम्प्पनीलाई कारबाही प्रक्रिया अघि बढाउनका लागि थप अनुसन्धान गर्न अनुसन्धान अधिकारी तोकेको छ। विभागले थप अनुसन्धान गर्न निर्देशन दिएपछि अनुसन्धान अधिकारी तोकेर मुद्दाको तयारी गर्न अनुसन्धान सुरु भएको हो। त्यसका लागि एक जना खाद्य निरीक्षकलाई अनुसन्धान अधिकारीका रुपमा तोकेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उक्त कम्पनीलाई प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गर्दै मुद्दा दायर गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताए। आम उपभोक्ताले विश्वास गरेर प्रयोग गर्ने चियापत्तीमा यसरी गरेको खेलवाड सीधै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भएकाले युनिलिभरलाई कडाभन्दा कडा कारबाहीको दायरमा ल्याउनुपर्ने उनले बताए।
युनिलिभरले यसरी अनुगमनमा गएका उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलाई समेत धम्की दिएको थियो। कम्पनीको धम्कीप्रति मञ्चले विज्ञप्ति जारी गर्दै आलोचना गरेको थियो। अपराध गर्नेहरु उम्कन नहुने भन्दै मञ्चले गैरकानुनी कार्य गर्ने उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो। उक्त प्रकरण सार्वजनिक भएपछि विभाग र खाद्य प्रविधि कार्यालयले अनुसन्धान अघि बढाएकोमा खुसी लागेको भन्दै यसलाई बीचमै उन्मुक्ति दिने कार्य हुन नदिन खबरदारी गरिराख्ने महासचिव तिमल्सिनाले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।