काठमाडौं- भारतीय अधिकारीहरुले अफगानिस्तानबाट करीब २ सय अर्ब भारतीय रुपैयाँ बराबरको तीन टन (३ हजार किलो) लागु औषध हेरोइन जफत गरेको जनाएका छन्।
अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अवैध अफिम आपूर्तिकर्ता हो। अफगानिस्तान कब्जापछि सरकार सञ्चालन गरिरहेको तालिबानले नशालु पदार्थको व्यापारमाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको बताएको छ तर, कसरी र कहिले भन्नेबारे भने केही उल्लेख नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
भारतस्थित गुजरातका एक सरकारी अधिकारीले तीन टन लागु औषध हेरोइन नियन्त्रणमा लिएको घटनामा दुई जनालाई पक्राउ गरेको र उनीहरुमाथि अनुसन्धान जारी रहेको बताए।
भारतस्थित लागु औषध तस्करी नियन्त्रण सम्बन्धी निकाय राजश्व अनुसन्धान निर्देशनालयले पश्चिम गुजरातको मुन्द्रा बन्दरगाहबाट सेप्टेम्बर १५ मा नसालु पदार्थ रहेको कन्टेनर आएको सूचनाका प्राप्त गरेपछि छापा मारेको सरकारी अधिकारीहरुले जनाएका छन्।
अधिकारीहरुका अनुसार दक्षिण तटीय शहर विजयवाडाको एक फर्मले कन्टेनर आयात गरेको थियो।
पछिल्लो समय अफगानिस्तानको अर्थव्यवस्थाको आधार कच्चा अफिम बनेको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्र संघको अनुमानमा देशमा सबै आर्थिक गतिविधिको लगभग १० प्रतिशत हिस्सा अफिमको उत्पादन, निर्यात र खपतसँग जोडिएको छ। अफिमको निर्यात अफगानिस्तानको बाँकी सबै चिजको तुलनामा दुई गुणा रहेको छ।
जसको नतिजा प्राकृतिक संशाधनमा समृद्ध देश विश्व बजारमा तामा या लिथियमको आपूर्तिमा कुनै भूमिका निभाउन सकिरहेको छैन। तर यहाँबाट कच्चा अफिम र हेरोइनको विश्वमा ८५ प्रतिशत आपूर्ति हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।