काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नतिजा आफ्नो पक्षमा नआएपनि टोलीको प्रदर्शन राम्रो रहेको बताएका छन्।
शनिबार फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएपछि बोल्दै उनले फिलिपिन्सजस्तो व्यावसायिक खेलाडीले भरिपूर्ण टोलीसँग यो स्तरको प्रदर्शन राम्रो रहको प्रतिक्रिया दिएका हुन्।
उज्वेकिस्तानको जेएआर स्टेडियमा सम्पन्न एएफसी महिला एसियन कप–२०२२ को छनोटअन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपाल बलियो प्रतिद्धन्द्धी फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो।
खेलमा सुरुवाती अग्रता विमला चौधरीले दिलाएपनि ९०औं मिनेटमा ताहनाई अन्निस र केमिली विल्सनले ९२औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई २–१ ले जित दिलाइन्।
प्रशिक्षक फिलिप्सले यो नतिजाबाट आफू निकै दुखी रहेको सुनाए। ‘खेलको ८५औं मिनेटसम्म राम्रो प्रदर्शन गर्यौं। हामी योभन्दा राम्रो नतिजाको लागि योग्य थियौं। तर, अन्तिम ५ मिनेटमा केही गल्तीका कारण खेल गुमाउन पुग्यौं। हामी निकै दुखी छौं,’ उनले भने।
आजको खेल हेर्दा नेपाली टोलीमा खेलको समय र अन्तर्राष्ट्रिय अनुभवको कमी देखिएको उनले बताए।
‘हाफटाइमसम्म म र टोली नै खेल जित्नेमा विश्वस्त थियौं। हामीले योजना अनुसार नै काउन्टर अट्याकमा खेल्यौं। हामीले बल आफ्नो पकडमा हुँदा केही राम्रो गर्न सक्थ्यौं। अन्तिममा दबाब खेप्नुबाहेक खेल हाम्रो नियन्त्रणमा नै थियो। गर्मीका कारण पनि हामीले परिवर्तन गरेपछि खेलमा जम्न समय लाग्यो। यस्तै, टोलीमा अनुभवको कमी पनि देखियो,’ उनले भने।
यता, चोटका कारण दुई मुख्य खेलाडी परिवर्तन गर्नुपर्दा केही घाटा भएकोसमेत उनले बताए। ३९औं मिनेटमा विमला चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।
‘दुर्भाग्यवश हामीले पहिलो हाफमा नै विमला चौधरीको साथ गुमायौं। दोस्रो हाफमा पुजा राना पनि चोटका कारण बाहिरिनु परेपछि टोलीको प्रदर्शनमा नै असर गर्यो। हाम्रा खेलाडीले डटेर खेले ,’ उनले भने।
उनले खेलाडीहरुले यस खेलबाट केही सिकेर अर्को खेलमा उच्च मनोबलसहित खेल्नुपर्ने बताए।
महिला फुटबलमा नेपाल र फिलिपिन्स दोस्रोपटक खेलेको हो। यसअघि १९९९ मा भएको एएफसी महिला च्याम्पियनसिपमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो।
छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यू खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो। दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।
अब समूह ‘एफ’ मा नेपालले मंगलबार हङकङसँग खेल्नेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ। फिलिपिन्सले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ।
नेपालले हङकङविरुद्धको खेल जितेमा एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ।
एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ। एएफसीले एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने उल्लेख गरेको छ। एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने जनाइएको छ।
नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो। सुरुवाती दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो। नेपाल सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन। १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।