काठमाडौं– फरवार्ड सविता राना र मिडफिल्डर प्रीति राईको डेब्यू गोलमा नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको हो। नेपालका लागि बंगलादेशसँगको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सविता र प्रीतिले गोल गरेका थिए। यता बंगलादेशकी तोहुरा खातुनले गोल गरिन्।
खेलको पहिलो १० मिनेट नेपाललाई दबाबमा राखेको बंगलादेशले १३औं मिनेटमा पहिलो गोल खाएको थियो।
नेपालका लागि सिनियर टोलीमा डेब्यू गरेकी सविताले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन्। उनले डिबक्स बाहिरबाट बिमला चौधरीले दिएको पासमा हेडर गोल गरेकी थिइन्।
खेलको १९औं मिनेटमा बंगलादेशले पाएको मौका गुमाएको थियो। उसका कप्तान सविनाले डिबक्स बाहिरबाट दिएको पासलाई हुलमुलमा नेपाली खेलाडीले क्लियर गरे।
२३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। आजकै खेलमा सिनियर टोलीबाट डेब्यू गरेकी प्रीतिले वान भर्सेस वानमा गोल गरिन्।
उनले सरु लिम्बुले दिएको पासमा बंगलादेशकी गोलरक्षक रुपना चक्मालाई बिट गर्दै खाली पोस्टमा गोल गरिन्।
खेलको २७ मिनेटमा प्रीतिले अर्को मौका खेर फ्यालिन्। डिबक्स नजिकै उनले बल पाए पनि कनेक्ट गर्न सकिनन्। बंगलादेशकी समसुन्नाहरले बल क्लियर गर्दा प्रीतिको अनुहारमा लागेर बाहिरिएको थियो।
३५औं मिनेटमा प्रीतिले पुन: अर्को मौका खेर फ्यालिन्। उनले उत्कृष्ट मुभ बनाउँदै डिबक्स क्षेत्र नजिकै बल लगेपनि पास दिन ढिला गर्दा बंगलादेशकी समसुन्नाहर र निलुफा निलाले बललाई क्लियर गर्दै संकट टारे।
त्यसपछि पनि दुवै टोलीले केही मौका पाएपनि सदूपयोग गर्न सकेनन् र पहिलो हाफमा नेपालले अग्रता जोगायो।
दोस्रो हाफको सुरुवातमै नेपालले बंगलादेशलाई दबाबमा राख्यो। बिमलाले सरुलाई दिएको पास बंगलादेशकी मसुरा प्रविणले हेड गर्दै बललाई छुने मौका दिइनन्।
४७औं मिनेटमा बंगलादेशका खेतलाडीले उत्कृष्ट मुभ बनाए पनि बललाई गोल पोस्टसम्म पुर्याउन सकेनन्। मोसम्मत मौसमी र सविनाले मुभ बनाए पनि नेपाली खेलाडीले क्लियर गर्दिए।
खेलको ४९औं मिनेटमा प्रीतीले अर्को मौका खेर फ्यालिन्। सरुले दिएको पासलाई कनेक्ट गरेर प्रीतीको सुन्दर प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपनाले पञ्च गरेर बचाइन्।
५७औं मिनेटमा बंगालादेशले अर्को अवसर खेर फ्याल्यो। सविनाको फ्रीकिकलाई नेपाली डिफेन्डरले बचाएपनि मौसमीले त्यसको सदुपयोग गर्न सकिनन्। उनले हिराकुमारी भुजेललाई छक्काएर पास दिन खोजे पनि सकिनन्।
६३औं मिनेटमा मोसम्मत सोफनाले हिरा र अमृता जैशीलाई बिट गर्दै पास दिने कोशिस गरे पनि सफल हुन सकेनन्। उनको पास हिरालाई लाग्दै बाहिरियो।
७९औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले गरेको शक्तिशाली प्रहार एन्जिला तुम्बापो सुब्बाले मुस्किलले पञ्च गरेर बचाएकी थिइन्।
८३औं मिनेटमा बंगलादेशलले गोल फर्कायो। मध्यभागबाट आएको पासलाई तोहुरा खातुनले हिरा र सृजना सिंहको बिचबाट बल लग्दै गोल गरिन्।
खेलको अतिरिक्त समयमा बंगलादेशकी ऋतु पोर्ना चक्माले गरेको प्रहार एन्जिलाले ड्राइभ गर्दै बचाएकी थिइन्।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
यो खेल नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको पहिलो खेल हो। सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको महिला फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै, नेपालले दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।