काठमाडौं- बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले २-० को अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सिनियर टोलीमा डेब्यू गरेकी सविता राना र प्रीति राईको गोलमा अग्रता लिएको हो।
खेलको पहिलो १० मिनेट नेपाललाई दबाबमा राखेको बंगलादेशले १३औं मिनेटमा गोल खाएको थियो।
नेपालका लागि सिनियर टोलीमा डेब्यू गरेकी सविता रानाले गोल गरेकी थिइन्। उनले डिबक्स बाहिरबाट विमला चौधरीले दिएको पासमा हेर्ड गोल गरेकी थिइन्।
खेलको १९ मिनेटमा बंगलादेशले पाएको मौका गुमाएको थियो। उसका कप्तान सबिना खातुनले डिबक्स बाहिरबाट दिएको पासलाई हुलमुलमा नेपाली खेलाडीले क्लियर गरे।
२३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। आजकै खेलमा सिनियर टोलीबाट डेब्यू गरेकी प्रीति राईले वान भर्सेस वानमा गोल गरिन्।
उनले सरु लिम्बुले दिएको पासमा बंगलादेशकी गोलरक्षक रुपना चक्मालाई बिट गर्दै खाली पोस्टमा गोल गरिन्।
खेलको २७ मिनेटमा प्रीतिले अर्को मौका खेर फालिन्। डिबक्स नजिकै उनले बल पाएपनि कनेक्ट गर्न सकिन्न। बंगलादेशकी समसुन्नाहरले बल क्लियर गर्दा प्रीतिको अनुहारमा लागेर बाहिरिएको थियो।
३५औं मिनेटमा प्रीतिले पुन: अर्को मौका खेर फालिन्। उनले उत्कृष्ट मुभ बनाउँदै डिबक्स क्षेत्र नजिकै बल लगेपनि पास दिन ढिला गर्दा बंगलादेशकी समसुन्नाहर र निलुफा निलाले बललाई क्लियर गर्दै संकट टारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।