काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथसमेत लिएका छन्।
नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्व सम्हाल्ननेछन्।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।
महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम लिएका छन्।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।