फाइल तस्वीर
काठमाडौं– बढ्दो कोरोना संक्रमण जोखिमपछि गत वैशाख १० गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि खोलिने भएको छ।
कोरोना संक्रमण कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी गरेको उनले बताए।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने उनले बताए। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ भने एकपटकमा २५ जनालाई मात्र मन्दिर प्रवेश गराइनेछ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने तत्काल खुला नगरिने कोषले जनाएको छ।
गतवर्ष पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।