काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले तीजले सबै प्रकारका विभेद अन्त्य गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरेका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैंगिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाउनुपर्ने बताएका छन्। यस्ता पर्वले समुन्नत समाजको निर्माणमा उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ।
कोभिड–१९ को कारण हर्षाेल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्त्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोधसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।