काठमाडौं- आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ, नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्न सरकारले गरेको तयारीप्रति ध्यानाकर्षण व्यक्त गरेको छ।
महासंघले एसीसी सम्झौताले देशको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने र राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउने भन्दै ध्यानाकर्षण गराएको हो।
महासंघले विभिन्न पाँच बुँदामा एमसीसीले कसरी सार्वभौम सत्तामाथि हस्तक्षेप गर्छ भन्ने विषयमा विचार व्यक्त गर्दै एमसीसी सम्झौता पारित नगर्न सरकारसमक्ष अनुरोध गरेको जनाएको छ।
हिन्द प्रशान्त क्षेत्रको सम्भाव्य ऊर्जा व्यापारलाई आफ्नो कब्जामा पार्न र यो क्षेत्रमा अमेरिकाको आर्थिक, राजनीतिक र सामरिक रणनीतिलाई मूर्तरुप दिन यो परियोजना नेपालमा छिरेको महासंघले जनाएको छ।
विद्यमान अर्थतन्त्रको वैकल्पिक मोडेल तय गर्दै समाजवादको यात्रामा अघि बढ्ने बाटोमा नेपालका लागि एमसीसी सबैभन्दा ठूलो अवरोध हुनेछ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा महासंघले उपेक्षित, उत्पीडित जनतादेखि देशलाई नै अधिनस्थ बनाउने तथा आदिवासी जनजातिहरुको सौन्दर्यलाई सिध्याउने नव–औपनिवेशीकरणका सबै स्वरुपहरु विरुद्ध प्रतिरोध गर्न समेत आह्वान गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।