काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शनिबार हुने सार्वजनिक कार्यक्रमले आफूलाई दिक्क लाग्ने गरेको बताएका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमको प्रमुख अतिथि रहेका उनले बिदाको दिन पनि फुर्सद नपाएकोमा गुनासो गरे। नेपाली कांग्रेसका संस्थापक तथा पहिलो नेपाली फिल्म 'राजा हरिश्चन्द्रका' निर्देशक डिबी परिहार (परियार) को संस्मरणमा आधारित पुस्तक 'फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी'को सार्वजनिक कार्यक्रममा उनी प्रमुख अतिथि थिए। उनले समेत सो विमोचन गरे। पुस्तकलाई शंकर तिवारीले सम्पादन गरेका हुन्।
'शनिबार, त्यही पनि दिउँसो १२ बजे कार्यक्रम राखिएको रहेछ,' उनले भने, '१२ बजे नै किन राख्नुहुन्छ? कि ११:५५ बजे राख्नुस् कि साढे १२ बजे कि सवा १२ मा राखे पनि भयो,' निधिले भने, 'हाम्रो संस्कृतिमा त १२ बजे भूतप्रेतको समय हुन्छ भन्छन्। यस्तो समयमा किन कार्यक्रम सुरु गर्नुहुन्छ तपाईंहरु?'

शनिबार कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न आफूले संसदमा र सर्वदलीय बैठकमा नै कुरा उठाएको प्रसंग पनि उप्काए। 'संविधान निर्माणको बेला सर्वदलीय बैठकमा प्रचण्डजी, माधवजी, झलनाथजी, शेरबहादुरजी र त्यसबेला गिरिजाबाबु पनि हुनुहुन्थ्यो। संविधानमा सहमति नभए पनि आज एउटा सहमति गरेर निस्कौं भन्ने कुरा राखेँ,' निधिले भने, 'सबै देशवासीलाई अपिल गरौं– सरकारले छुट्टी दिन्छ। हामी राजनीतिक प्राणी र अरु सामाजिक संस्थाले पनि शनिबार कुनै काम नगरौं। आफ्नो परिवार, छोराछोरी श्रीमान्–श्रीमतीलाई समय दिऔं। किनकि छुट्टी मनाउनु जीवनका लागि महत्वपूर्ण कुरा हो।'
शनिबारलाई पूरापूर बिदाकै रुपमा मनाउनुपर्ने विषयमा आफू अभियानमै रहे पनि असफल भएको उनको भनाइ थियो। दर्शकदीर्घामा रहेका लेखक खगेन्द्र संग्रौलातिर हेर्दै उनले थपे, 'अगाडि खगेन्द्रजी लगायत अरु लेखकहरु पनि हुनुहुन्छ। यस्तै कार्यक्रम रोक्न त म सक्दिनँ तर शनिबार कुनै पनि कार्यक्रम नगर्नुहोला।'
धेरै कार्यक्रम शनिबार नै हुने र तिनले निकै व्यस्त बनाउने गरेकाले परिवारका लागि समय दिन नभ्याउने गरेको समस्या पनि निधिले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।