काठमाडौं–लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएपछि उपत्यकाको एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। भारतबाट ग्यास बोकेर आएका करिब १ सय २५ बुलेट विभिन्न स्थानमा रोकिँदा झन्डै डेढ लाख सिलिन्डर बराबरको ग्यास काठमाडौं आउन पाएको छैन।
नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड भएर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा रोकिएका छन्। एउटा बुलेटमा औसत १ हजार २ सय ५० सिलिन्डर बराबर ग्यास हुने निगमले जनाएको छ।
नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि बुधबारयता नयाँ ग्यास बुलेट काठमाडौं प्रवेश गर्न सकेका छैनन्। यसले चाडपर्वको मुखमा उपत्यकामा ग्यास अभाव हुन सक्ने चिन्ता बढाएको छ।
तर निगमले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। निगमका अनुसार पछिल्ला तीन दिनमा स्टकबाट ६३ हजार २ सय ५६ सिलिन्डर बजारमा पठाइएको छ। आइतबार मात्रै १८ हजार ८ सय ७१ सिलिन्डर वितरण गरिएको छ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक खुलेपछि दैनिक ५०–६० हजार सिलिन्डर बजारमा पठाउन सकिने बताएका छन्।
पेट्रोल, डिजेल र हवाई इन्धनमा भने तत्काल समस्या नरहेको निगमको भनाइ छ। थानकोटमा पेट्रोल–डिजेल र सिनामंगलमा हवाई इन्धनको करिब १० दिन पुग्ने मौज्दात रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।