काठमाडौं– हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोपछि हराइरहेका पर्वतीय कामदारको खोजीका लागि उद्धार टोली घटनास्थलतर्फ परिचालन भएको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार मिङ्मा गेल्जे शेर्पासहित चार जना गाइडलाई लिएर हेलिकोप्टर हिमलुङतर्फ उडेको हो। मौसम र उडानको अवस्थाका कारण अन्य चार गाइड भने काठमाडौंमै तयारी अवस्थामा रहेका छन्।
उद्धार टोलीको नेतृत्व मिङ्मा गेल्जे शेर्पाले गरेका छन्। टोलीमा पासाङ काजी शेर्पा, पासाङ रिन्जे शेर्पा, आशिष गुरुङ, तेर्सिङ पेम्बा शेर्पा, विक्रम कार्की, डान्डु शेर्पा र एनएनएमजीएका महासचिव पिम्बा तेन्जिङ लामा छन्।
हिमपहिरोमा केही पर्वतीय कामदार हराइरहेको प्रारम्भिक जानकारी आएपछि एनएनएमजीएले आईएफएमजीए/एनएनएमजीएका आठ जना गाइडलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखेको थियो।
घटनास्थल पुगेर टोलीले हिमपहिरोमा हराइरहेकाहरूको खोजी गर्नुका साथै घटनाको वास्तविक अवस्था र उद्धारका लागि आवश्यक थप तयारीबारे जानकारी संकलन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।