काठमाडौं– कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ।
मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय खोल्नेबारे एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायत आधार बनाइएको छ। स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकोमा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन्।
राष्ट्रिय अभिभावक महासंघले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्त्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने बतानएका हुन्।
भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।