काठमाडौं– मनसुनी वायुको प्रभावका कारण आज देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही पदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
राति पनि वर्षा हुने महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको जनाइएको छ।
काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ। राति २ बजेदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ। काठमाडौं पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ।
देशभर भइरहेको वर्षाका कारण पहाडी भूभागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने सक्ने महाशाखाले जनाएको छ। नदी तथा खोलाका तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।