काठमाडौं– गृह मन्त्रालयले विगत केहीदिन यता छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।
आइतबार मोदीको नाम उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।'
सरकारले सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको गृह मन्त्रालयको भनाइ छ।
'मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ। मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ', गृहको विज्ञप्तिमा भनिएको छ, 'भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिनेछ।'
मित्रराष्ट्रविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ।
भारतीय सीमा सुरक्षाा बल (एसएसबी)ले तुइन खुस्काएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा नेपालमा विरोध र सरकारको आलोचना भइरहेको छ। केहीदिन पहिले विभिन्न विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै मोदीको पुत्ला दहन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।