Credit: AFP Photo
काठमाडौं- तालिबान सूचना समितिका प्रमुख सिबगतुल्लाह वसीलले काबुल विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन समय लाग्ने बताएका छन्।
अमेरिकी सेनाहरुले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल ध्वस्त पारेको भन्दै मर्मतसम्भार गरेर सञ्चालमा ल्याउन समय लाग्ने उनले बताएका हुन्।
‘उनीहरुले यसको हरेक भाग जलाइदिएका छन्। त्यसैले यसलाई मर्मत गर्न समय लाग्छ। तर, हामी केहि दिन भित्रै अस्थाई रुपमा यसलाई सञ्चालनमा ल्याउने कोसिस गर्नेछौं,’ उनले भने।
हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले मंलबार बिहान ‘विशेष सेना’ तैनाथ गरेको छ।‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबिहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन्।
अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो वाइडेनले मध्यएसियाली यस देशबाट अमेरिकी सेना फिर्ता गर्नको लागि तोकिएको समय सीमा हो।
प्रवक्ता मुजाहिदले पनि अमेरिकी सेनाले विमानस्थलमा धेरै ब्रिगारेको र समाधान गर्न समय लाग्ने बताएका छन्। ‘अमेरिकी सेनाले विमानस्थलमा धेरै ब्रिगारेको र यो एक प्राविधिक समस्या हो र समाधान गर्न समय लाग्नेछ, र पुनः सुरु गर्ने प्रयास जारी छ। जति सक्दो चाँडो व्यावसायिक उडान सञ्चालन गर्नेछौं,’ मुजाहिदले भने।
अहिले कतार र टर्कीको प्राविधिक टोली काबुलमा छन्। शुक्रबार मात्रै कतारी परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि काबुल आइपुगेका थिए।
काबुल विमानस्थलमा आतंकवाद विरोधी र द्वन्द्व समाधानका लागि मध्यस्थताको भूमिका खेलेका कतारी विदेशमन्त्रीका विशेष दूत मुतलक बिन मजेद अल काहतानीसहितको टोली अफगानिस्तान आइपुगेका हुन्।
उनीहरुले तालिबानको कब्जाबाट विमानस्थल फिर्ता ल्याउने र सञ्चालनमा सहयोगी भूमिका खेल्न छलफल गर्नेछन्।
‘हामीले विमानस्थल पुन: खोल्नको लागि धेरै प्राविधिक पठाएका छौं र तार्किक चुनौतिहरुको समाधान खोजिरहेका छौं,’ काहतानीले भने।
उनले आफ्नो प्रयास पूर्ण वा आंशिक रुपमा विमानस्थल सञ्चालनको लागि हुने बताएका छन्।
‘हाम्रो प्रयास पूर्ण वा आंशिक रुपमा विमानस्थल सञ्चालनको लागि हुनेछ। यसले काबुल एयरपोर्टमा अधिक उडानहरुलाई मद्दत गर्नेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।