काठमाडौं- तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बन्दुक र गोली सरकारी सम्पत्ति भएको भन्दै आफ्ना लडाकूलाई नचाहिने काममा प्रयोग नगर्न आग्रह गरेका छन्।
शुक्रबार राति तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा आफ्नो नियन्त्रण लिएको दाबी गरेको पछि हवाई फायर गर्दा गोली लागेर १७ जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४१ जना घाइते भएका छन्।
तर, काबुलको आपतकालीन अस्पतालले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ।तालिबानका प्रवक्ता मुजाहिदले एक ट्वीट गर्दै गोलीले आम मानिसलाई चोट पुर्याउने बताएका छन्।
‘अल्लाहलाई धन्यवाद दिनुहोस्। तपाईंहरुलाई दिइएको बन्दुक र गोली सरकारी सम्पत्ति हो। उनीहरुलाई नष्ट गर्ने अधिकार कसैलाई छैन। गोलीले आम मानिसलाई चोट पुर्याउनेछ, हावामा गोली नहानौं,’ उनले भने।
यता, तालिबान विरोधी फौज रेजिस्टेन्स फोर्सले पन्जशिर उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकू मारिएको दाबी गरेको छ।
यता, त्यहाँका एक नागरिकले फोनमा एएफपीलाई भने,‘तालिबानले शनिबार कुनै आधिकारिक घोषणा गरेको छैन।’
अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्वलडाकू र स्थानीय लडाकूहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्।
सालेहले एक भिडियो जारी गर्दै भने, ‘स्थिति कठिन छन्, हामीमाथि आक्रमण भएको छ। हामी उनीहरुको सामना गरिरहेका छौं र यो जारी रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।