Photo : Handout/Reuters
काठमाडौं- तालिबानले अफगानिस्तानमा सरकार गठनको प्रक्रिया सुरु गरिसकेको छ। तर, पन्जशिर उपत्यकामा लडाइँ अझै समाप्त भएको छैन।
समाचार एजेन्सी एएफपीका अनुसार तालिबान सरकार गठनको घोषणा हुनुभन्दा पहिले पन्जशिर उपत्यकामा लडाइँ अन्त्य गर्न चाहन्छ।
पन्जशिर उपत्यका, जसले सोभियत संघको कब्जा र तालिबानको पहिलो शासन (१९९६ –२००१) को समयमा आफ्नो बचाव गरेको थियो। यो पटक पनि चुनौती दिइरहेको छ।
तथाकथित नेशनल रेजिस्टन्स फोर्स, तालिबान विरोधी लडाकूहरु र पूर्वअफगानिस्तान सैनिकहरुको समूहले ठूलो संख्यामा हतियार जम्मा गरेको विश्वास गरिन्छ।
यो क्षेत्र काबुलको उत्तरबाट ८० किमीको दूरीमा छ र एक पातलो गहिरो खाडल यसलाई अर्को छेउबाट अलग गर्दछ।
शुक्रबार राति तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा आफ्नो नियन्त्रण लिएको दाबी गरेको थियो। पन्जशिरमाथि विजयको खुसीमा तालिबानले काबुलमा हवाई फायर गरेको थियो।
तालिबानले हवाई फायर गर्दा गोली लागेर १७ जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४१ जना घाइते भएका छन्।
तर, काबुलको आपतकालीन अस्पतालले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। तालिबानले एक ट्वीटमा गोली चलाउन बन्द गर्ने आग्रह गरेको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘ हवाई फायरबाट बच्नुहोस्, बरु अल्लाहलाई धन्यवाद दिनुहोस्। तपाईंलाई दिइएको बन्दुक र गोली सरकारी सम्पत्ति हो। उनीहरुलाई नष्ट गर्ने अधिकार कसैलाई छैन। गोलीले आम मानिसलाई चोट पुर्याउनेछ, हावामा गोली नहानौं।’
यता, तालिबान विरोधी फौज रेजिस्टेन्स फोर्सले पन्जशिर उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकू मारिएको दाबी गरेको छ।
यता, त्यहाँका एक नागरिकले फोनमा एएफपीलाई भने,‘तालिबानले शनिबार कुनै आधिकारिक घोषणा गरेको छैन।’
अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्वलडाकू र स्थानीय लडाकूहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्।
सालेहले एक भिडियो जारी गर्दै भने, ‘स्थिति कठिन छन्, हामीमाथि आक्रमण भएको छ। हामी उनीहरुको सामना गरिरहेका छौं र यो जारी रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।