काठमाडौं- पूर्वसचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रको आयोजना गरेर पुस्तक सार्वजनिक गरिएको हो।
नेपाल सरकारको शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदादिधारी भएर प्रशासनिक र कूटनीतिक क्षेत्रमा छत्तिस वर्ष सेवा गरेका कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामीठा अनुभवका केही अंशलाई ‘प्रशासनभित्रको प्रशासन’मार्फत् बाहिर ल्याएको प्रकाशक सांग्रिला बुक्सको भनाइ छ।
पुस्तकमा टिप्पणी गर्दै पूर्वमहान्यायाधिवक्ता डा युवराज संग्रौलाले कूटनीति लगायतका अन्य समस्या समाधान गर्न नसक्नुका कारण, विचौलियाबाट प्रभावित राजनीतिक नेतृत्व तथा त्यसले कर्मचारीतन्त्रलाई पारेको समस्या र अन्तरकर्मचारी सम्बन्धका बारेमा पुस्तकले आफ्नो ध्यान आकर्षित गरेको बताए।
उनले पुस्तक प्रशासनका थुप्रै पाटोको अनुसन्धानमा उपयोगी हुने बताउँदै गोविन्द्रप्रसाद कुसुम समाधानउन्मुख प्रशासक भएका कारण लेखकले तथ्य दिएर आफ्ना धारणा पुष्टि गरेको उल्लेख गरे।
अर्का टिप्पणीकार सावित्री थापा गुरुङले प्रशासनको एक कालखण्डको इतिहासलाई लेखकले इमान्दारिताका साथ लिपिबद्ध गरेको बताइन्। उनले प्रशासकले लेखेको भएपनि पठनका हिसाबले निकै सरस भाषामा पुस्तक आएको पनि उल्लेख गरिन्। साथै, एक पूर्वप्रशासकको अनुभव मिश्रित यो पुस्तक प्रशानसका रहेका, प्रशासनमा आउन चाहने, नेता, कार्यकर्ता लगायत सर्वसाधारणका लागि पनि नेपालको प्रशासन बुझ्न निकै उपयोगी सामग्री हुने पनि बताइन्।
डायरी लेख्ने आफ्नो बानीका कारण समय र घटनाहरु उतार्न सजिलो भएको बताउँदै लेखक कुसुमले आफूले यो पुस्तकमार्फत् अनुभव हस्तान्तरणको जिम्मेवारी निभाएको बताए। प्रशासकले इतिहास लिपिबद्ध नगर्नाले अनुभवहरु केवल फलानाले भनेको र फलानाको पालामा भएकोमा सीमित भएकाले आफूले यो जमर्को गरेको उनको भनाइ थियो। छत्तिस वर्षको अनुभव लेख्न चार महिना लागे पनि यो आफ्नो अनुभवको सानो अंशमात्र रहेको उनले उल्लेख गरे।
सार्वजनिक अनुभवका विभिन्न आयाम बोकेको यो पुस्तक निजामती प्रशासनको क्षेत्रमा कार्यरत पुस्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्दा बेहोर्नुपर्ने उल्झनको उचित व्यवस्थापन गर्न सहयोगी हुने सांग्रिला बुक्सले विश्वास लिएको छ। ४६० पृष्ठको पुस्तकको मूल्य ७७५ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।