काठमाडौं- उत्तर कोरियालाई संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रस्ताव थियो।
तर, उत्तरले त्यसलाई अस्वीकार गरेको छ। उसले पहिलो पटक भने भ्याक्सिन लिन अस्वीकार गरेको होइन। जुलाइमा पनि उत्तर कोरियाले एस्ट्राजेनेकाको २० लाख डोज खोप लिन अस्वीकार गरेको थियो।
विश्वभर कोरोनाको त्रास जारी रहँदा र खोपका लागि देशहरुले संघर्ष गरिरहँदा उत्तरले भने कोभ्याक्स सुविधा अन्तर्गत चीनमा बनेको खोप लिन अस्वीकार गरेको हो। आखिर किन उसले खोप लिन अस्वीकार गरिरहेको छ भन्दै चासो व्यक्त भएका छन्।
उसोत उत्तरले आफ्नो देशमा एक जनामा पनि कोरोना संक्रमण नरहेको दाबी गर्दै आएको छ।
कम्युनिस्ट शासन रहेको उत्तरमा के भइरहेको छ भन्ने थाहा पाउने सम्भावना हुँदैन। त्यसैले उत्तरमा कोरोना संक्रमितको संख्या छ वा छैन भन्नेबारे एकीन नभएपनि गरिब देशहरुका लागि राष्ट्र संघले कोभ्यास सुविधा अन्तर्गत खोप उत्तरलाई दिन खोजेको थियो तर उसले अस्वीकार गरेको छ।
कोरोना महामारी सुरु भएसँगै उत्तरले आफ्नो सीमाहरुलाई कडाइका साथ बन्द गराएको थियो। केही समय अघि केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि नभएको र त्यो फ्लू भएको उत्तरले बताएको समाचारहरु सार्वजनिक भएको थियो।
बीबीसीले उत्तर कोरियाले कोरोना विरुद्धको खोप नलिनुको पछाडि 'डर' भएको उल्लेख गरेको छ। उत्तर कोरियालाई लाग्छ कि भ्याक्सिनबाट साइड इफेक्ट हुनेछ।
सीमा बन्द भएका कारण चीनसँगको आयात पनि प्रभावित भएको छ।
किम जोंङ उनले यस संकटका बावजूद कोभिड प्रतिबन्धलाई हटाएका छैनन्। यस हप्ताको सुरुवातमा संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई ३० लाख कोभिड खोप दिने प्रस्ताव गरेको थियो तर उसले लिन अस्वीकार गरेको छ।
उत्तर कोरियाली शासक किम जोंङ उनले आफ्ना अधिकारीहरुलाई खाद्य आपूर्तिको समस्या सुल्झाउन र जलवायु परिवर्तनको खतरालाई रेखांकित गर्न निर्देशन दिएका छन्।
गत वर्ष टाइफूनले गर्दा उत्पादनमा ठूलो असर परेको थियो। यसका अलावा हप्तौका सुख्खापन र फेरि मनुसनमा भारी वर्षाका कारण उत्पादनमा नराम्रो असर परेको छ।
किमले असामान्य मौसमका कारण यस्तो स्थितिको सामना गर्न परिरहेको जनाएका छन्। उनले अधिकारिहरुलाई वर्षा र सुख्खासँग लड्ने योजनाको लागि काम गर्न भनेका छन्। किमले बिहीबार पार्टी पोलिटब्यूरोको बैठकमा यस्तो भनेको बीबीसीले उल्लेख गरेको छ। किमले हालसाल भएको वर्षामा जलवायु परिवर्तनको प्रभाव धेरै रहेको बताउँछन्। उत्तर कोरियाली शासकले यससँग लड्नका लागि तत्काल कदम उठाउन जोड दिएका हुन्।
किमले बाढीबाट नागरिकलाई जोगाउनका लागि आधारभूत ढाँचालाई विकसित गर्न जरुरी रहेको र त्यसका लागि गम्भीर भएर काम गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।