काठमाडौं- यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाइरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए।
अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए।
उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए। उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भएपनि वितरण गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।