Photo : Hoshang Hasimi/AFP
काठमाडौं- तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले नयाँ सरकारमा कुनै महिलालाई मन्त्रालयको जिम्मेवारी नदिने स्पष्ट पारेका छन्।
इटालियन मिडिया ‘ला रिपब्लिका’मा बिहीबार प्रकाशित एक अन्तर्वार्तामा मुजाहिदले अन्य क्षेत्रको जिम्मेवारी दिएपनि मन्त्रालयको दिन नसक्ने बताएका हुन्।
‘नर्सको रुपमा पनि काम गर्ने दिइने छ। पुलिसमा पनि हुनेछ तर कुनै मन्त्रालय पाउने छैन,’ उनले भने।
यस्तै, उनले किशोरीहरुलाई विश्वविद्यालयमा पढ्ने अनुमति दिइने स्पष्ट पारेका छन्। अफगानिस्तानको काबुलमा गत बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी भएको समाचारहरु सार्वजनिक भएका छन्।
स्वास्थ्य सुविधामा कमी देखिएसँगै तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ। मुजाहिदले तालिबानको तर्फबाट उनीहरुको काममा कुनै बाधा नहुने बताएका छन्।
काबुलमा प्रवेशपछि आफ्नो पहिलो प्रेस कन्फरेन्समा तालिबानका प्रवक्ताले महिलालाई शरिया कानुनमा भएको अधिकारमात्र मिल्ने बताएका थिए। कयौं अन्य तालिबान नेताले पनि महिलालाई काम गर्न दिनेबारे बताइरहेका छन्। अहिलेसम्म कुनै स्पष्ट नीति आएको छैन।
तर, हालसालै राष्ट्रिय टेलिभिजन र रेडियो संस्थानमा महिलालाई काम गर्नबाट रोक लगाइएको समाचारहरु सार्वजनिक भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।