काठमाडौं- तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन्।
यसअगाडि १३ साउनमा बेइजिङ भ्रमणमा पुगेका तालिबानका सह-संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादारसँगको छलफलमा चीनले इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम)सँग सम्बन्ध तोडे अफगानिस्तान पुनःनिर्माणमा साथ दिने वाचा गरेको थियो।
इटालियन मिडिया ‘ला रिपब्लिका’मा बिहीबार प्रकाशित एक अन्तर्वार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा महत्त्वपूर्ण साझेदार हो। चीन अफगानिस्तानमा लगानी गर्न र निर्माण गर्न तयार छ।’
३१ अगस्टसम्ममा सबै विदेशी सेना अफगानिस्तानबाट बाहिरिसकेका छन् र तालिबानले सरकार गठनको प्रक्रिया सुरु गरिसकेका छ। अफगानिस्तान हाल आर्थिक र खाद्य संकटसँग जुधिरहेको छ।
मुजाहिदले भने,‘अफगानिस्तानले चीनको नयाँ सिल्क रोडबाट फाइदा लिनेछ। चीनले अफ्रिका, एशिया र युरोपलाई नयाँ सिल्क रोड (रेशम मार्ग) वा वन बेल्ट- वन रोडसँग जोड्नेछ। यस सञ्जाल अन्तर्गत बन्दरगाह, रेलवे, सडक र औद्योगिक पार्कहरु निर्माण गरिनेछ।’
अफगानिस्तानमा पर्याप्त तामाको भण्डार छ र यी भण्डारहरु तालिबानले चीनलाई हस्तान्तरण गर्न सक्छ। मुजाहिदले चीनले यहाँका खानीहरुलाई आधुनिकीकरण गर्ने संकेत दिसकेका छन्।
तालिवानले रुससँग राजनीतिक र आर्थिक सम्बन्ध रहेको स्वीकार गरेको छ। ‘रसियाले मध्यस्थता गरी शान्ति सम्झौतामा प्रमुख भूमिका खेलेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।