विश्वकप २०१८ समूह डी – अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया, नाइजेरिया।
समूह 'डी'मा साविक उपविजेता अर्जेन्टिना छ। युरोपियन जाइन्ट क्लिर क्रोएसियासँगै नवप्रवेशी टिम आयरल्यान्ड समूहमा छन्। अफ्रिकाको पावर हाउस नाइजेरिया पनि रहेकाले समूह चरणका खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
अर्जेन्टिना र क्रोएसियाबीच जुन २१ मा हुने खेल यो समूहको महत्वपूर्ण खेल हो। सन् १९९८ पछि दुई टिम विश्वकपमा भिड्न लागेका हुन्। उक्त विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० गोलले हराएको थियो। यता बार्सिलोनाका सहकर्मी लिओनल मेसी र इभान राकिटिक यसअघि क्लबका लागि भिड्थे। अब भने दुवै जना नकआउट चरणमा स्थान पक्का गर्न एक आपसमा भिड्न पर्ने भएको छ।
के तपाईलाई थाहा छ?
पछिल्लो ८ वर्षमा आइसल्यान्ड र क्रोएसियाबीच विश्वकप छनोट खेलमा ६ पटक प्रतिस्पर्धा भयो। जसमा क्रोएसियाले चार जित निकालेको छ। एक खेल बराबरीमा सकिदा पछिल्लो खेलमा भने आइसल्यान्ड विजयी भएको थियो।
नाइजेरिया र आइल्यान्डबीच अहिलेसम्म एक पटक मात्र प्रतिस्पर्धा भएको छ। सन १९८१ मा भएको मैत्रीपूर्ण खेलमा आइल्यान्डले नाइजेरियालाई ३–० गोलले हराएको थियो।
समूह 'डी' रहेका अर्जेन्टिना र आइल्यान्डबीच अहिलेसम्म प्रतिस्पर्धा भएको छैन। रसिया विश्वकप दुवै टिमले एकअर्का विरुद्ध खेल्दै सुरुवात गर्दैछन। यता क्रोएसिया र नाइजेरियाबीच पनि अहिलेसम्म प्रतिस्पर्धा भएको छैन। क्रोएसिया र नाइजेरियाको पनि २०१८ को विश्वकपमा पहिलो खेल एकअर्का विरुद्ध छ।
यता नाइजेरिया र अर्जेन्टिनाबीच भने समूह चरणमा ४ पटक भिडन्त भइसकेको छ। रसिया विश्वकपमा उनीहरु पाँचौ पटक प्रतिस्पर्धा गर्दैछन्। यसअघि भएका चार वटै खेलमा अर्जेन्टिनाले जित निकालेको थियो। सन् १९९४ मा अर्जेन्टिना २–१ गोलले विजयी भएको थियो। सन् २००२ विश्वकपमा पनि अर्जेन्टिनाले नाइजेरियालाई १–० गोलले हरयो। सन् २०१० मा अर्जेन्टिना र नाइजेरियाबीच तेस्रो पटक भिडन्त भयो। सो खेलमा अर्जनेछिनाले १–० कै जित निकाल्यो। सन् २०१४ पनि अर्जेन्टिनाले नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।
समूह 'डी'का चार टिमको विश्वकप इतिहास
अर्जेन्टिना
दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले अन्तिम छनोट खेलपछि रुसको टिकट काटेको हो। अर्जेन्टिना १७औं पटक विश्वकप खेल्दै छ। डिएगो म्याराडोना र लिओनल मेसी जस्ता हस्तीहरू जन्मिएको यो देश सन् १९७४ देखि लगातार विश्व कपमा सहभागी छ।
अर्जेन्टिनाले १९३०, १९३४, १९५८, १९६२, १९६६, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो। अर्जेन्टिना १९७८ र १९८६ मा विश्व च्याम्पियन भएको थियो।
आइसल्यान्ड
आइसल्यान्ड विश्व कपमा सहभागिता जनाउने पहिलो टिम हो। उसले निर्णायक खेलमा कोसोभोलाई २–० ले हराउँदै विश्व कपमा आफ्नो स्थान सुरक्षित गरेको हो। जनसंख्याको आधारमा आइसल्यान्ड विश्व कपमा छनोट हुने सबैभन्दा सानो देश हो। आइसल्यान्डको कूल जनसंख्या ३ लाख ३५ हजार मात्र छ। यसअघि विश्व कप खेल्ने सानो देश ट्रिनिडाड एन्ड टोबाको थियो। सन् २००६ को विश्व कप खेलेको ट्रिनिडाड एन्ड टोबाकोको जनसंख्या १३ लाख छ। आइसल्यान्ड गत वर्ष भएको युरो कपमा पनि पहिलो पटक छनोट हुने टिम बनेको थियो।
क्रोएसिया
क्रोएसियाले युरोपको ‘प्लेअफ’मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्व कपमा स्थान बनायो। क्रोएसियाले १९९८ मा तेस्रो स्थान हात पार्नु अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। फ्रान्सले विश्व कप जितेको यो प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो। युगोस्लाभियाबाट छुटिएपछि सन् १९९८ मा पहिलो विश्व कप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आइरहेको छ।
नाइजेरिया
नाइजेरिया अफ्रिका छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै छैटौं पटक विश्व कपमा छानिएको हो। सन् १९९४ मा पहिलो पटक विश्व कपमा सहभागी भएको नाइजेरियाले १९९८ देखि लगातार भाग लिँदै आएको छ। पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको नाइजेरिया १९९८ र २०१४ मा पनि प्रिक्वाटरफाइनमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।