काठमाडौं– नारायणी नदीको बाढीले सुस्ता गाउँपालिका–५ को बस्ती डुबानमा परेपछि १ हजार २८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। नदीको बहाव निरन्तर बढेपछि सुरक्षाकर्मीले रातारात जोखिममा रहेका स्थानीयको उद्धार गरेका हुन्।
नदीको बहाव बढ्न थालेपछि स्थानीयलाई सुरुमा सुस्तास्थित होल्डिङ सेन्टरमा राखिएको थियो। शनिबार राति भने बाढी बस्तीमै पस्नुका साथै होल्डिङ सेन्टरसमेत जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको हो।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले डुङ्गाको सहायतामा उद्धार अभियान सञ्चालन गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका प्रमुख गोविन्दबहादुर खातीका अनुसार होल्डिङ सेन्टरमा रहेका ४ सयसहित थप ६ सय २८ जनालाई नारायणी नदीको वारी सुरक्षित क्षेत्रमा ल्याइएको हो।
उद्धार गरिएकामध्ये ५ सय ४६ जनालाई सुस्ता–५ बलिनगरस्थित श्री बीपी माध्यमिक विद्यालयमा बनाइएको अस्थायी होल्डिङ सेन्टरमा राखिएको छ। बाँकी ४ सय ८२ जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
नारायणीको जलस्तर अझै उच्च रहेकाले सुस्ता क्षेत्रमा बाढीको जोखिम नटरेको स्थानीय प्रशासनले जनाएको छ। प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।