काठमाडौं- रसियामा हुने विश्वकप फुटबल खेल नजिकिएसँगै फुटबल पारखीहरु उत्साहित हुने गरेका छन्। तर, अब विश्वकप खेल दर्शकका लागि मात्रै उत्सवमा सीमित रहेन। टेलिभिजन बिक्रेताहरुका लागि पनि विश्वकप उत्सव बनेर आएको छ।
फुटबलप्रेमी नेपाली दर्शकहरुको ठूला स्क्रिनमा टेलिभिजन हेर्ने मोह बढेसँगै विश्वकपलाई नै लक्षित गरेर विभिन्न ब्रान्डका टिभीले नयाँ भर्सनको टिभी सेटहरु सार्वजनिक गर्ने क्रम बढेको छ। जसका कारण टेलिभिजनका शोरुमहरुमा खरिदकर्ताको भिड देखिएको छ।
कान्तिपथस्थित सोनीको शोरुममा भेटिएका राष्ट्र बैंकका कर्मचारी पदमराज जोशीले विश्वकप हेर्नकै लागि ठूलो स्क्रिन भएको टेलिभिजन किन्न आएको बताए।

नयाँबजार बस्ने प्रेमबहादुर खत्री पनि विश्वकपका लागि विभिन्न ब्रान्डका टेलिभिजनले ल्याउने छुटका अफर हेरेर टेलिभिजन किन्ने सोचमा छन्। ‘यसपटकको विश्वकप ठूलो स्क्रिनमा हर्ने सोच बनाएको छु। छुट अफरलाई हेरेर चाँडै खरिद गर्ने प्लान छ,' उनले भने।
विश्वकपको अवसर छोपेर विभिन्न ब्रान्डका टिभीमा टेलिभिजन खरिदमा विभिन्न किसिमका योजना तथा छुटको व्यवस्था ल्याउने होड नै चलेको छ।
यस्ता छन् विश्वकप लक्षित अफर
एलजी : ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर
एलजीले विश्वकप फुटबललाई लक्षित गरेर ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ।
कान्तिपथ शोरुमका शोरुम म्यानेजर सुदिप खतिवडाले कम्पनीले विश्वकपलाई नै लक्षित गरेर एलजीका टेलिभिजनको खरिदमा इन्टरनेट सुविधासमेत दिनेगरी योजना बनाएको बताए। एलजी टेलिभिजनको खरिदमा फ्रि भायनेट इन्टरनेट ३ महिनाका लागि दिइने तथा फ्रि नेट टेलिभिजन लाइभ च्यानलहरु पनि पाउने कम्पनीले व्यवस्था गरेको उनले बताए। यसैगरी ग्राहकले हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी पनि लकी ड्रबाट पाउनेछन्। आफ्ना हरेक क्याटेगोरीका एलइडी टिभी सुपर युएचडी टिभी, युएचडी टिभी, स्मार्ट टिभी तथा नर्मल एलइडी टिभीमा सुपर डिसकाउन्ट अफर ल्याएको कम्पनीले जनाएको छ।
विश्वकपलाई लक्षित गरेर नेपालमा नै सबैभन्दा ठूलो ८६ इन्चको स्क्रिन भएको टिभी पनि आफूहरुले ल्याएको खतिवडाले बताए।
विश्वककप फुटबल नजिकिएसँगै शोरुममा १० प्रतिशतले व्यापार बढेको उनी बताउँछन्। एलजीको विभिन्न मोडलका १७ हजारदेखि १८ लाख रुपैयाँसम्मको टिभी बजारमा रहेको उनले बताए।
सोनी : ५५ इन्चको टिभीमा विशेष अफर
सोनीले ५५ इन्चको टेलिभिजनमा विशेष अफर ल्याएको जनाएको छ। सोनीको कान्तिपथ शाखाका शोरुम म्यानेजर रोमन अवालले ३ लाख २५ हजार मूल्यको ५५ इन्चको टिभी १ लाख ९० हजारमा बिक्री गर्न लागेको बताए। साथै सोनीको टेलिभिजन खरिदमा २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको उनको भनाइ छ।
हाल बजारमा ३५ इन्चदेखि ६५ इन्चसम्मका सोनीका टेलिभिजन छन्। उक्त टेलिभिजनको मूल्य ४६ हजार ५ सयदेखि १० लाख ७५ हजारसम्म रहेको उनले बताए।

सामसुङ : ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर
सामसुङले भने टेलिभिजन खरिदमा ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ। साथै टेलिभिजन खरिदमा विभिन्न ४ कम्पनीको टिकट खरिदमा छुटको व्यवस्था ल्याएको सामसुङको दरबारमार्ग शोरुमका सेल्स म्यानेजर सुजन पराजुलीले बताए।
अहिले सामसुङले बजारमा २४ इन्च देखि ६५ इन्चसम्मको टेलिभिजन बजारमा रहेको छ। ती विभिन्न मोडलको टेलिभिजनको मूल्य २३ हजारदेखि ६ लाखसम्म पर्ने उनले बताए।
त्यस्तै स्काई वर्थ टेलिभिजनले पनि विश्वकप फुटबललाई लक्षित गरेर २५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ। टेलिभिजनले जेठ १ गतेदेखि उक्त क्यास ब्याक अफर ल्याएको जनाएको छ।
यता, टिसिएलले पनि विश्वकप फुटबललाई लक्षित गरेर टेलिभिजन खरिद गर्दा २५ प्रतिशतसम्म छुट अफर ल्याएको जनाएको छ।
नेपाली समयअनुसार जेठ ३१ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।