काठमाडौं- अफगानिस्तानमा तालिबानले आज आफ्नो नेतृत्वमा नयाँ सरकारको घोषणा गर्ने तयारी गरेको छ।
तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले सामाजिक सञ्जालमा काबुलस्थित राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको बीबीसीले जनाएको छ।
तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद गठन हुन सक्ने, जसको प्रमुख राष्ट्रपति हुने बताएका थिए।
मुल्ला हिब्तुल्लाहका तीन उप-प्रमुख छन्। जो तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलवी याकुब, शक्तिशाली हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्ये एक अब्दुल गनी बरादर रहेका छन्।
तालिबानले पछिल्लो पटक सन् १९९६ देखि २००१ सम्म आफ्नो शासनकालमा यस्तै खालको एक परिषदको सहारा शासन गरेको थियो जो जननिर्वाचित थिएन।
तब तालिबान सरकारले अफगानिस्तानमा शरीयत कानून लागू गरेको थियो।
२००१ मा अमेरिकी नेतृत्वमा गठबन्धन सेनाले अफगानिस्तानमाथि हमला पछि तालिबान सत्ताबाट हटेको थियो र उसका धेरै नेताले देश छाडेका थिए।
२० वर्षपछि तालिबानले फेरि अफगानिस्तानमा नियन्त्रण गरेको छ र उसका अधिकांश नेता देश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।