काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेपछि विमानस्थल सञ्चालन गर्न एक प्राविधिक टोली काबुल आइपुगेको छ।
राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले मंगलबार बिहान विशेष सेना तैनाथ गरेको छ। यद्यपि, तालिबानले मात्रै विमानस्थल सञ्चालन गर्न नसक्ने भएपछि कतारी प्राविधिक टोली काबुल आएको हो।
‘एक कतारी विमान प्राविधिक टोली बोकेर आज बिहान काबुल विमानस्थल अवतरण गरेको छ। उनीहरुले विमानस्थल सञ्चालनको काम सुचारु गर्नेछन्,’ तालिबान स्रोतले भन्यो।
यद्यपि, प्राविधिक सहायता प्रदान गर्ने सम्बन्धमा कुनै अन्तिम सहमति नभएको बताइएको छ। कतारको प्राविधिक टोलीले अन्य पक्षको अनुरोधको आधारमा यस बिषयमा छलफल सुरू गरेको छ।
‘सुरक्षा र सञ्चालन स्तरमा वार्ता अझै जारी छ,’ तालिबान स्रोत भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।