काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तको खिपरो क्षेत्रमा कृष्ण जन्माष्टमी उत्सवको क्रममा भगवान श्रीकृष्णको मूर्ति टुटेको भन्दै आयोजकले प्रहरीमाथि प्रश्न गरेका छन्।
आयोजकहरुका अनुसार प्रहरीले लाठी चार्ज गर्दा सोमबार भागदौडको अवस्था बनेको र यसबीचमा मूर्ति टुटेको थियो।
प्रहरी अधिकारीहरुले भने आरोपको खण्डन गरेका छन्। स्थानीयले कोभिड-१९ को नियमको पालना गर्ने भरोसा दिएको भएपनि पालन नभएपछि हस्तक्षेप गर्नु परेको प्रहरीले जनाएको छ।
तर यस प्रकणमा कुनै आरोप दर्ता भएको छैन। पाकिस्तानमा केही महिनायता हिन्दू मन्दिरहरुमा आक्रमण बढिरहेको छ।
सिन्धको यो क्षेत्रमा हिन्दू कोहली समूदायका मानिसले हरेक वर्ष जन्माष्टमी उत्सवको आयोजना गर्ने गरेका छन्।
सामान्य दिनमा उत्सवको आयोजना एक हप्ताको हुने गरेको थियो र यस बीचमा कयौं धार्मिक गतिविधि हुने गरेको छ।
कोरोनाका कारण यस वर्ष सिन्धमा लकडाउन जारी छ र स्थानीय प्रशासनले आयोजकहरुलाई कार्यक्रमको आयोजना सीमित रुपमा गर्न भनेको थियो। उत्सव पछि उनीहरुलाई ' साँझ ६ बजेदेखि विहान ८ बजेसम्म मेलाका लागि अनुमति दिइएको थियो।'
उक्त समयमा साढे २ देखि ३ सय मानिसलाई मन्दिर जान अनुमति दिइएको थियो। मानिसहरुले कोरोनाको नियम पालन गर्दै दर्शन पूजा गर्न सकुन् भन्नका लागि भगवान श्रीकृष्ण को मूर्ति मन्दिरको सट्टा खुला स्थानमा राखिएको थियो।
कोहली समूदायले प्रहरीलाई भरोसा दिएको थियो। तर आयोजकमाथि आरोप छ कि उनीहरुले नियमको पालना गरेनन्। तर कोहली समूदायले भने प्रहरीको यो भनाइलाई अस्वीकार गर्छ।
अल कोहली एसोसिएशनका स्थानीय इकाईका अध्यक्ष दिया राम कोहलीले बीबीसीसँग भने, "पुलिस र प्रशासनले जे नियम बनाएको थियो मानिसहरुले त्यसको पालना गरिरेहका थिए तर प्रहरीले उनीहरुलाई उत्सव मनाउन दिएन। "
कोहली पाकिस्तान पीपुल्स पार्टीका स्थानीय अल्पसंख्यक शाखाका प्रमुख पनि हुन्।
चर्को विरोधपछि प्रहरीले विज्ञप्ति प्रकाशन गरेर आफूमाथिको आरोपको खण्डन गरेको छ।
सिन्धका मुख्यमन्त्रीका मानवाधिकार मामलाका विशेष सहयोगी वीर जी कोहलीका अनुसार स्थानीय पसलेहरुसँग प्रहरीले चाँडो भन्दा चाँडो स्थान खाली गर्न भनेको थियो। उनले प्रहरीले आफ्नो काम गरेको बताए।

पाकिस्तानमा विगत एक वर्षको बीचमा हिन्दूहरुका सात प्रमुख मन्दिरमा हमला र तोडफोडको घटना सार्वजनिक भएको छ। अगस्टमा पाकिस्तानको पञ्जाब प्रान्तमा गणेश मन्दिरमा तोडफोड भएको थियो।
गत वर्ष इस्लामावादमा कृष्णको निर्माणाधीन मन्दिरमा निशाना बनाइएको थियो भने गत अगस्टमा कराचीमा हनुमान मन्दीरमा तोडफोड भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।