काठमाडौं- दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको पुष्टि भएको छ।
उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटना घटेको देखिएकोले दोषीमाथि कारबाहीका लागि भारतीय पक्षसँग कूटनीतिक पहल गर्न सिफारिस गरेको गृह मन्त्रालयले जानकारी दिएको हो।
'समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न, साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,' गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गृहका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो। १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका-२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा खसेर बेपत्ता भएका बताएका थिए।
उक्त घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।