काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा नेपाली नागरिक दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन्। १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका-२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा खसेर बेपत्ता भएका बताएका थिए।
उक्त घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए।
तोकिएको समयमा समितिले प्रतिवेदन तयार गर्न अनुसन्धान नसकेको भन्दै २५ साउनमा एक साता म्याद थपिएको थियो। त्यसपछि भदौ २ र भदौ ९ गते एक/एक साताको समय थप गरिएको थियो। थपिएको समय (१७ भदौ) सकिनु दुई दिनअघि समितिले प्रतिवेदन बुझाएको हो। समितिले घटनाको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।