काबुल- अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ। ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन्।
अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्य एसियाली यस देशबाट अमेरिकी सेना फिर्ता गर्नको लागि तोकिएको समय सीमा हो।
'हामी विमानस्थल सुरक्षित बनाउका लागि तयार छौं। सबै कुरा चाँडै नै सामान्य अवस्थामा ल्याइनेछ। अमेरिकी सेनाले विमानस्थलमा धेरै बिगारेको छ। यो एक प्राविधिक समस्या हो र समाधान गर्न समय लाग्ने। पुनः सुरु गर्ने प्रयास जारी छ,' उनले भने। जतिसक्दो चाँडो व्यावसायिक उडान सञ्चालन गर्ने पनि मुजाहिदले बताएका छन्।
उनले भने कि अमेरिकी सेना फिर्तापछि अफगानिस्तान ‘पूर्ण स्वतन्त्र' भएको छ। मुजाहिदले भने, 'तालिबानले संयुक्त राज्य अमेरिकालगायत सबै देशसँग आर्थिक र व्यापारिक सम्बन्ध राख्न चाहन्छ।'
प्रत्येक देशसँग अफगानिस्तानको राम्रो सम्बन्ध हुनसक्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।