काठमाडाैं– संयुक्त राज्य अमेरिकी सेनाले करिब २० वर्षपछि पूर्ण रुपमा अफगानिस्तान छाडेको छ। आज सेनाको अन्तिम समूहसँगै काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अमेरिका फर्किएको समाचारहरुमा उल्लेख छ।
योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ। यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ।
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए।
अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले पछिल्लो दुई हप्तामा अफगानीसहित एक लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जानकारी दिएका छन्।
यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।