काठमाडौं– चीनले बालबालिकाको अनलाइन खेलको समय कटौती गर्ने घोषणा गरेको छ। अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउनेछन्। यसलाई प्राविधिकको विवेकी कदमका रूपमा अथ्र्याइएको छ।
१८ वर्षमुनिका अनलाइन खेलाडीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म मात्र खेल्न अनुमति दिइने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। प्राबिधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन्।
नावालिगहरूले आफ्नो उमेरबारे झूट नबोलेको सुनिश्चित गर्न अनलाइन खेल्न दर्ता गर्दा खेल खेल्नेहरूले आफ्नो आइडी कार्ड प्रयोग गर्नु पर्ने समाचारमा उल्लेख छ।
यद्यपि विद्यालय बिदाको समयमा भने उनीहरूले केही बढी समय खेल्न पाउने समाचारमा उल्लेख छ।
‘अनलाइन खेल खेल्ने लतले अध्ययन र सामान्य जीवनमा असर गरेको छ,’ चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनल भनेको छ, ‘थुप्रै आमाबाबु दुःखी भएका पाइएकाले खेलको नियमलाई सुधार गरिएको हो।’
निर्णय अनुसार चीनले कम्पनीहरूलाई तोकिएको समयभन्दा बाहेक गेमिङ सेवा प्रदान गर्न निषेध गरेको छ तर नियम तोड्नेहरूलाई के सजाय दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।
चीन अडियो–भिडियो र डिजिटल प्रकाशन संघका अनुसार यस वर्षको पहिलो छ महिनामा अनलाइन खेलका माध्यमबाट करिब २० अर्ब अमेरिकी डलर राजस्व उठेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।