तस्वीर– एएफपी/गेट्टी ईमेज
काठमाडौं– पृथकतावादी संगठन इस्लामिक स्टेट (आईएस)ले अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट हमला गरेको दाबी गरेको छ।
आईएसको अफगानिस्तानस्थित शाखाले सोमबार काबुल विमानस्थलमा ५ वटा रकेट आक्रमण गरेको दाबी गरेको छ।
इस्लामिक स्टेट खोरासन प्रान्त (आईएस–के)ले सामाजिक सञ्जालमार्फत काबुल विमानस्थलमा रकेट आक्रमण गरिएको र आक्रमण सफल भएको जनाएको छ।
यसअघि आइतबार साँझ विमानस्थल नजिकै ड्रोन आक्रमण भएको थियो। अमेरिकी अधिकारीहरुले ड्रोन आक्रमणमा परेर आईएसका आत्मघाती आक्रमणकारीको मृत्यु भएको दाबी गरेका थिए।
गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए। उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो।
अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ । इस्लामिक स्टेट्स (आइएस) ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।