काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नजान नेता कार्यकर्तालाई उर्दी जारी गरेको पाइएको छ।
निधिले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय शुक्रबारदेखि आरम्भ गरेका थिए। उक्त कार्यक्रममा निधिले आमन्त्रण गरेका नेता कार्यकर्तालाई देउवाले रोकेको आरोप लागेको छ। प्रदेश २ बाट निधिको कार्यक्रममा सरिक हुन आएका केही नेता/कार्यकर्ता देउवाको कारण सहभागी नभएको बताइएको छ।
‘प्रदेश २ बाट आएका जिल्ला सभापतिहरुलाई बालुवाटार बोलाएर कार्यक्रममा नजान उर्दी जारी गरिएको रहेछ’ निधि निकट एक नेताले भने। निधिको पक्षमा देखिए राजनीतिक जीवन समाप्त पारिदिने धम्कीसहित नजान भनिएको स्रोतको दाबी छ।
गत शुक्रबारदेखि निधिले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्। कार्यालय उद्घाटन समय साढे १२ बजेको लागि राखिएको थियो। निधिको कार्यालय सुरु हुनु अघि नै देउवाले बालुवाटारमा प्रदेश १ का नेता तथा जिल्ला सभापतिलाई डाकेका थिए।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले विहान १० बजे प्रदेश २ का जिल्ला नेता तथा केन्द्रीय नेतालाई बालुवाटार बोलाएका थिए। देउवाले बोलाएर बालुवाटार पुगेकी चित्रलेखा यादवसहित प्रदेशका जिल्ला सभापति बालुवाटार पुगेका थिए।
निधिको कार्यालय उद्धाटनमा नजान देउवाले दिएको चेतावनीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘को को जान्छन् तिनीहरुको हिसाव किताव पछि हुन्छ। नाम नै लेखेर राखिन्छ।’ देउवाले नजान भनेपछि चित्रलेखा यादव उपसभापति निधिले सुरु गरेको कार्यालयमा गइनन्।
पर्साका सभापति अजय द्विवेदी र सप्तरीका सभापति दिनेश यादव पनि बालुवाटार पुगेका थिए। निधि प्रदेश २ को मात्रै नेता नभएर राष्ट्रिय नेता भएको उल्लेख गर्दै सभापतिमा निधिलाई सहयोग गर्न देउवालाई उनीहरुले आग्रह गरेका थिए।
निधिको पक्षमा लाग्नेलाई चेतावनीको शैली प्रयोग नगर्न उनीहरुले देउवालाई सुझाएका थिए। स्रोतका अनुसार प्रदेश २ का नेताहरुसँग देउवाले छलफल गर्दा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र उमाकान्त चौधरी पनि बालुवाटारमै थिए।
देउवाको चेतावनी पश्चात् संस्थापन पक्षका केन्द्रीय नेताहरु निधिको कार्यक्रममा न्यून मात्रामा पुगेको विश्लेषण गरिएको छ। उक्त कार्यक्रममा संस्थापन भन्दा इतर पक्षका जिल्ला सभापतिहरुको सहभागिता बढी थियो। प्रदेश २ बाट पर्सा, धनुषा र सप्तरीका जिल्ला सभापति निधिको कार्यालय उद्धघाटनमा पुगेका थिए। संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा लक्ष्मी परियार पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।