Photo : EPA-EFE/STRINGER
काठमाडौं- अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा आइतबार सैन्य कारबाही गरेको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै इस्लामिक स्टेट समूहको अफगान शाखा आईएस-के (इस्लामिक स्टेट-खोरासन)का सदस्यहरुलाई लक्षित गरि सैन्य कारबाही गरिएको जानकारी दिएको हो।
अमेरिकी कारबाहीको बारेमा थप विवरण अझै आएको छैन। यस्तै, यो विमानस्थल नजिकैको घरमा आक्रमण भएको रकेटसँग सम्बन्धित रहे/नहेरेहेको पनि खुलेको छैन।
आइतबार साँझ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एउटा घरमा रकेट आक्रमण भएपछि विस्फोट भएको थियो। विस्फोटमा कति जना घाइते भएका छन् भन्ने अझै खुल्न सकेको छैन।
समाचार एजेन्सी एएफपीले काबुलमा आफ्ना संवाददाताहरुलाई उद्धृत गर्दै विस्फोटको आवाज ठूलो रहेको बताएको छ।
यसअघि शनिबार अमेरिकी राष्ट्रपति जो वाइडेनले काबुल विमानस्थलमा आफ्ना सैनिकमाथि भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए।
बिहीबार विमानस्थल नजिक विस्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो। मारिनेमा १३ अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए। बाँकी अफगानी नागरिक रहेको बताइएको छ।
शुक्रबार पनि विमानस्थल प्रवेश गेटमा ‘फायरिङ’ गरिएको बताइएको छ। ‘फायरिङ’पछि भागदौड मच्चिएको छ। ‘फायरिङ’ कसले गर्यो अहिलेसम्म प्रस्ट हुन सकेको छैन।
यद्यपि, गत बिहीबार भएको बम विस्फोट र लगतार भीड बढ्न थालेपछि तालिबानले काबुल विमानस्थल वरपरको क्षेत्र सिल गरेको छ।
तालिबानले त्यहाँ ठूलो संख्यामा आफ्ना लडाकू तैनाथ गर्दै विमानस्थल जाने सडक र मुख्य चोकहरूमा घेरा हालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।