काठमाडौं- इराकी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या रसुलले अफगान संकटको अनुभव इराकमा दोहोरिन नदिने बताएका छन्।
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता ३१ अगस्टसम्म पूरा हुनेछ। तालिबानले काबुल नियन्त्रणमा लिएको दुई हप्ताभन्दा कम समयमा बिहीबार हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो।
मारिनेमा १३ अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए। बाँकी अफगानी नागरिक रहेको बताइएको छ।
अफगानिस्तान जस्तै इराकबाट ६ हजार अमेरिकी सेना फिर्ता जाने तयारीमा रहेका छन्। इराकका प्रधानमन्त्री मुस्ताफा अल-खादिमीले औपचारिक रूपमा जुलाईमा राष्ट्रपति जो वाइडेनसँग इराकमा जारी अमेरिकी सैन्य मिसन २०२१ को अन्त्यसम्म समाप्त गर्ने सहमति गरेका छन्।
इराकी समाचार वेबसाइट रुदावको रिपोर्ट अनुसार रसुलले भने, ‘अफगानिस्तानमा जे भयो त्यो इराकमा हुनेछैन। दुई देशबीच कुनै तुलना छैन। हामीसँग सशस्त्र बल र नागरिक सुरक्षा प्रणाली छ। इराकी सेना र इराकी जनता एकजुट छन्।’
उनले आफूहरुले पृथ्वीको सबैभन्दा शक्तिशाली उग्रवादी संगठनसँग लडेको कुरा पनि स्मरण गराएका छन्।
‘हामी इराक र इराकी जनताको रक्षा गर्न सकक्षम छौं। साथै, इराकको ४० प्रतिशत भूभाग फिर्ता लिन पृथ्वीको सबैभन्दा शक्तिशाली उग्रवादी संगठनसँग पनि लडेका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।